इलाम । खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपाली नागरिकका घर घरमा धारा र धारामा सुरक्षित खानेपानी भन्ने दृढ सङ्कल्पका साथ अघि बढिरहेको बताएका छन् । आइतबार इलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले देशका विभिन्न ग्रामीण बस्तीमा अहिले पनि शुद्ध खानेपानी अभावले थुप्रै समस्या देखापरेकाले ती समस्या समाधान गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताए ।
‘खानेपानी समस्याकै कारण देशका कयौँ ठाउँमा अहिले पनि नागरिकले बस्ति सार्नु पर्ने अवस्था छ’, मन्त्री यादवले भने, ‘सरकारले खानेपानीका समस्या समाधानका लागि ठोस योजनाहरु अघि सारेको छ । अव खानेपानीकै लागि बस्ती सार्नुपर्ने अवस्थाको अन्त गर्छौँ ।’
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गर्ने पनि बताए ।
कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका माहानिर्देशक रामकुमार श्रेष्ठले इलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजना अन्तर्गत सुर्योदय नगरपालिका–४ र ५ का करिब दुई हजार १३४ घरपरिवार र ११ हजार ७६९ जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए ।
कार्यक्रममा इलाम क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेत, कोशी प्रदेश सभा सुशासन तथा योजना समितिका सभापति खगेश्वरी पौडेल (बन्दना), प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री शमशेर राई, सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ तथा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका प्रमुख उत्सव पोख्रेल लगायतको उपस्थिति थियो ।









































