काठमाडौं । बैंकिङ विज्ञ पर्शुराम कुँवरले बैंकमा लगानी गरेकाहरूलाई ऋण नदिने भन्नेबारे वृहत् छलफल गर्नुपर्ने बताएका छन् । आइतबार बसेको अर्थ समितिको बैठकमा विज्ञ कुँवरले बैंकमा लगानी गरेकै कारण उसलाई ऋण नदिने भन्ने नीति ल्याउँदा त्यसको असरका पाटोहरू पनि केलाउने पर्ने बताएका हुन् ।
‘बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने वित्तिकै त्यो मान्छेलाई बैंकिङ क्षेत्रले लोन नै नदिने भन्ने पनि हुन्छ ?’, उनले अगाडि भने, ‘जोसँग पैसा छ उसले बैंकमा लगानी गरेको हुन्छ । उसको अरू व्यवसाय पनि हुन्छ । उसले बैंक तथा वित्तीय संस्थामा लगानी गरेकै कारण अरू व्यवसायका लागि ऋण नै दिन्नभन्दा यसको इम्प्लिकेसन के हुन्छ रु त्यसैले यसलाई राम्रोसँग छलफल गर्नुपर्छ ।’
लगानी गरेकै कारण बोर्डमा आउन नहुने बताउँदै उनले भने, ‘बैंकको बोर्डमा राम्रो खालको मानिस आउनु पर्छ । म पैसावाल भए, पैसा भएकै कारण म शेयरधनी भए, शेयरधनी हुने वित्तीकै म सञ्चालक भए, सञ्चालक भए भन्ने वित्तीकै सबै मेरो भयो भन्ने हुनुहुँदैन ।’
नेपालमा आफूभन्दा माथिल्लो तहमा भएको व्यक्तिलाई तल्लो तहकोले तपाइ गलत हुनुहुन्छ भनेर भन्ने नसक्ने भएकोले पनि कतिपय कुराहरूमा समस्या आउने गरेको उनको तर्क छ । अन्य देशमा भने यस्तो प्रचलन नरहेको उनले जानकारी दिए ।









































