काठमाडौं । गृहमन्त्री रमेश लेखकले अहिलेको व्यवस्थाले जनतालाई मालिकको रूपमा सबैभन्दा माथि राखेर काम गर्ने दाबी गरेका छन्। धादिङ पुगेर एक कार्यक्रमलाई सम्बोधन गर्दै व्यवस्था फेरिएपनि सोचे अनुसार नभएपनि विकासले गति लिएको बताए।
उनले भने, ‘मुलुकमा लोकतन्त्र, गणतन्त्र र संघीयतापछि हामीले सोचजस्तो हुन नसकेको होला तर विकासको गतिमा देश अगाडि बढेको छ। विकट ठाउँमा सम्म सडक पुगेका छन्। जनता स्थानीय सरकारसँग जोडिन पाएका छन्। आज मुलुकमा लोकतन्त्र छ र त पत्रकारहरुले पनि स्वतन्त्र ढङ्गले बोल्न र लेख्न पाएका छन्। जनताको भावना अभिव्यक्त हुन पाएको छ आलोचना र समर्थन हुन्छन्। यो लोकतन्त्रको विशेषता हो।’
उनले यो व्यवस्थाको सुरक्षा, सुदृढीकरण पनि आवश्यक रहेको बताए।
उनले थपे,‘अहिलेको शासन भनेको जनतालाई सबैभन्दा माथि राखेर हामीले काम गर्ने हो हेर्ने हो। त्यसैले हामी जनताको सेवक हो भन्ने भावनाको साथ काम गर्न जरुरी हुन्छ। त्यसैले सुरक्षाकर्मीहरूले समाजलाई अपराधबाट जोगाउने र सुरक्षा दिने काममा केन्द्रित हुनुपर्छ। विपद्को जोखिम न्यूनीकरणमा ध्यान दिएर काम गर्नुपर्छ।









































