काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले सरकारले श्रमिकको हितमा ध्यान दिनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित शुभकामना तथा श्रम संसार पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै उनले श्रमिकको हितमा ध्यान दिँदै उनीहरूलाई स्वदेशमै बस्न प्रेरित गर्नुपर्ने बताएका हुन् ।
आन्तरिक रोजगारी सिर्जना गर्नतर्फ सरकारको ध्यान जान जरुरी रहेको उनको भनाइ छ । उनले भने, ‘हामीले कसरी उहाँहरूलाई स्वदेशमै बस्न प्रेरित गर्ने ? वैदेशिक रोजगारीमा जान बाध्य युवाहरूलाई स्वदेश फर्काउन हामीले ध्यान दिनुपर्छ । आन्तरिक रोजगारी सिर्जना गर्नतर्फ हामीले ध्यान दिनुपर्ने आवश्यकता छ । आन्तरिक तथा बाह्य रोजगारीमा जाने श्रमिकहरूलाई दक्ष बनाएर श्रम बजारमा पठाउनुपर्छ । अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि श्रमिकलाई एक ठाउँदेखि तालिम प्रदान गर्ने कुरा आउनुपर्छ । अहिले पनि कुनै पनि सीपबिना वैदेशिक रोजगारमा जाने साथीहरूले धेरै समस्याहरू भोग्नुपरेको छ ।’
वैदेशिक रोजगारीमा जाने युवाहरूलाई रोजगारदाताको मागअनुसार पठाउने गरी तालिमको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ ।









































