विराटनगर । कोरोना महामारीकाबीच आकाशेपुल शिलन्यासको तयारी गरेका मन्त्री र मेयर मुख्यमन्त्रीको निर्देशनपछि पछि हटेका छन् ।
बुधबार बेलुका आकाशेपुल शिलन्यास गर्ने तयारीमा रहेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र प्रदेश १ भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङ मुख्यमन्त्री शेरधन राईको निर्देशनपछि पछि हटेका हुन् ।
बुधबार बेलुका ५ बजे विराटनगरको घाँस चोकमा पुल शिलन्यास गर्न भन्दै शहरी विकास तथा भवन कार्यालयलका प्रमुख मिलन आचार्यले शिलन्यासका लागि निमन्त्रणा पठाएका थिए ।
अन्तिम समयमा मुख्यमन्त्रीले रोक्न निर्देशन दिएपछि शिलन्यास रोकिएको हो । ‘यस्तो बेला शिलन्यासको कार्यक्रम राख्न हुदैन् भन्दै मुख्यमन्त्रीले रोक्नुभयो,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले भने,‘मुख्यमन्त्रीको निर्देशनपछि शिलन्यासको कार्यक्रम रोकियो ।
शिलन्यासमा सहभागि हुन निमन्त्रणमा आएपछि प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि कार्यक्रम नगर्न आग्रह गरेका थिए । शिलन्यासका लागि मलाई पनि निमन्त्रणा आयो, यस्तोबेला मान्छे भेला पारेर शिलन्यास कार्यक्रम गर्न हुदैन् भनेर मन्त्री र मेयरज्यूलाई फोन गरे, प्रजिअ निरौलाले भने,‘पछि रोकियो भन्ने जानकारी पाए ।
विराटनगर महानगरपालिकाले नगरक्षेत्रभित्र कुल तीनवटा आकाशे पुल निमार्ण गरिरहेको छ भने सहरी विकास तथा भवन कार्यालयले छुट्टै एउटा पुल निर्माण गर्ने तयारी गरेको छ ।
विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले एक महिना अघि शिलन्यास गरेर काम अघि बढाएको बताए । महानगरले कोसी राजमार्गको घाँस चोक, बरगाछी चोक र कञ्चनबारी चोकमा आकाशे पुल निर्माण गर्ने बताए । सहरी विकास कार्यालयले घास चोकमा बनाउने इच्छा देखाएकाले महानगरले बसपार्कमा बनाउने उनले बताए ।