एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यक्तिगत वकिल रहिसकेका रुडी जुलियानीको कार्यालय तथा घरमा संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले छापामारेको छ ।
युक्रेनसँगको सम्बन्धलाई लिएर जुलियानीमाथि अनुसन्धान भइरहेको छ र सोही क्रममा उनको घर तथा कार्यालयमा छापा मारिएको एफबिआईले जनाएको। छ ।
सन् २०२० को राष्ट्रपतीय चुनावअघि जुलियानीको नेतृत्वमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन र उनका छोरा हन्डर बाइडेन सम्बन्धी घातक जानकारी खोजी गरिएको थियो ।
जुलियानीका वकिलले त्यसक्रममा कुनै पनि कानून उल्लंघन नगरिएको दाबी गर्दै आएका छन् ।
बाइडेनले चुनाव जिते र उनका छोरा हन्डरले युक्रेनमा कुनै पनि प्रकारको अवैध काम नगरेको बताउँदै आएका छन् ।
सन् २०१९ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आफू पुनः निर्वाचित हुने सम्भावना बढाउनका लागि युक्रेनसँग सहयोग मागेको आरोपमा महाअभियोग लाग्यो ।
बुधबार न्यूयोर्क सिटीका पूर्व मेयर जुलियानको अपर इस्ट साइड अपार्टमेन्ट तथा पार्क एभिन्यू कार्यालयमा एफबिआईले छापा मारेको हो ।
७६ वर्षका जुलियानका विभिन्न इलेक्ट्रोनिक सामग्री एफबिआईले जफत गरेको द न्यूयोर्क टाइम्सले जनाएको छ ।
जुलियानीका वकिल रोबर्ट कोस्टेलोले एफबिआईको छापाको विरोध गरेका छन् । आवश्यक नरहेको अवस्थामा छापा मारिएको उनले फक्स न्यूजसँग बताएका छन् ।