काठमाडौं । सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुंगले वरिष्ठ र राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण गर्दा एक नम्बरमा एमाले निकटलाई प्राथमिकता दिनू, एमालेमा पनि ओली पक्षीय, माधव नेपाल पक्षको भए पनि ओलीतिर निकट रहेका, एकताका पक्षधर, माओवादीतिरबाट एमाले प्रवेश गरेका, माओवादी र कांग्रेस निकटका पनि केपी ओलीलाई प्रतिगमनकारी भनेर नलेखेका, नबोलेका अनि जुनसुकै पार्टीको भए पनि दोलखा जिल्लाकालाई प्राथमिकतामा राखेर दिनू भनेर निर्देशन दिएको सञ्चार मन्त्रालय स्रोतले बताएको छ ।
हरेक वर्ष वैशाख २४ गते राष्ट्रपतिको हातबाट दिने प्रचलन रहेको उक्त पुरस्कारहरु यसचोटि कोरोनाका कारण मितिमा तल माथि पर्नसक्छ । गत साल लकडाउनका कारण रोकिएकाले गत वर्षको पनि पुरस्कारहरु खप्टिएर यसै वर्ष दिइने तयारी भएको सञ्चार मन्त्रालयले जनाएको छ ।
वरिष्ठ पत्रकारिता पुरस्कार पाउनेले रु। दुई लाख र राष्ट्रिय पाउनेले रु। एक लाख नगद पाउँछन् । गत वर्ष कोभिड संक्रमणको नाममा पुरस्कृत व्यक्तिहरुको छनौट नगरिएका कारण यसचोटि दुवै वर्षका गरी एकमुष्ट १६ जनाको नाम छनौट गरिने तयारी गरिएको छ । वरिष्ठ पत्रकारिता पुरस्कारबाट अग्निशिखालाई मरणोपरान्त सम्मानित गर्न भन्दै मन्त्री पार्वतले निर्देशन नै दिएका छन् । उनको पुरस्कारमा कसैले विमति राखेका पनि छैनन् । पछिल्लो समयमा केपी ओलीको प्रतिगमनको पक्षमा खुलेर लागेका रेडियो अभियन्ता रघु मैनालीलाई पनि पुरस्कार दिन मन्त्रीले अराएका छन् । उनी झापाका भएकाले उनलाई प्रधानमन्त्रीको नै रोजाइ भएको मन्त्रीको भनाइ छ ।
राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि मातृका पौडेल, उजिर मगरलाई दिन पनि मन्त्रीले अराएका छन् ।
यसो गर्दा दोलखाबाट राष्टिय मिडियामा काम गर्ने नछुटुन र एक दुई जना नेकाका र माओवादी निकटलाई दिनू नत्र विवाद आउँछ भन्दै मन्त्रीले अराएको मन्त्रीको सचिवालय निकट स्रोतले बताएको छ ।
नाममात्रको छनौट समिति बनाइएको छ । नेपाल पत्रकार महासंघका सभापतिलाई पनि छनौट कमिटीको सदस्य बनाइएको छ । तर, मन्त्रीको तजविजी र मनमौजीका कारण उनीहरुले अनुमोदन गरेका छैनन् । हस्ताक्षर गरेका छैनन् ।