वि.सं.२०८३ वैशाख २० आइतवार

राष्ट्रसंघका विज्ञले भने, मानव अधिकार आयोगको नियुक्ति सच्याऊ

khanepani

काठमाडौं । मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघ उच्चायुक्तको कार्यालयको एक विज्ञ समूहले राष्ट्रिय मानव अधिकार आयोगमा हालै गरिएको पदाधिकारी नियुक्ति आयोगको स्वायत्तता र अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएको भन्दै सच्याउन आग्रह गरेको छ ।

उच्चायुक्तको कार्यालयका ८ विज्ञहरुले मंगलबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आयोगमा हालै भएको नियुक्ति सच्याएर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउन आग्रह गरेका छन् ।

हामी नेपाल सरकारलाई संवैधानिक निकायहरुमा भएको नियुक्ति उल्टाउन र खुला, पारदर्शी, वृहत परामर्श र सहभागितासहितको नयाँ प्रक्रियाको सहजीकरण गर्न आग्रह गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ, ‘कानुनको शासनमा आधारमा प्रजातान्त्रिक राज्यको प्रभावकारी संचालनका लागि स्वतन्त्र र निष्पक्ष आयोग महत्वपूर्ण छ । विज्ञहरुले सो विषय नेपाल सरकारलाई जानकारी गराइसकेको समेत उल्लेख गरेका छन ।

यस अगाडि राष्ट्रसंघको उच्चायुक्तको कार्यालयले नियुक्तिका सम्बन्धमा नेपाल सरकारलाई एक पत्र नै पठाएर चासो राखेको थियो र नेपाल सरकारले त्यसको जवाफ दिएको थियो ।

त्यसपछि सन्तुष्ट नभएको राष्ट्रसंघीय निकायले यो प्रकारको नियुक्तिले आयोगको स्वायत्तता र वैधानिकतालाई अवमूल्यन गरेको निश्कर्ष निकालेको छ ।

नियुक्ति प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नभएकोमा हाम्रो हाम्रो गम्भीर चासो छ,’ विज्ञप्तिमा भनिएको छ,‘यसले आयोगको स्वायत्तता, निष्ठा र वैधानिकतालाई अवमूल्यन गरेको छ । यसले मानव अधिकार उल्लंघनका घटनामा उपचार खोज्ने नेपाली जनताको पहुँचलाई वञ्चित गर्ने छ ।

उनीहरुले आयोगको स्वायत्ततामा जोड दिएका छन् । आयोगमा भएको नियुक्तिले नेपालको संविधान र कानुन अनुसार समेत नभएको उनीहरुले उल्लेख गरेका छन् ।

सरकारले अध्यादेश ल्याई संवैधानिक परिषदका ३ जना सदस्यको उपस्थितिमा बैठक गरी मानव अधिकार आयोगलगायत विभिन्न संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेको थियो । संवैधानिक निकायका पदाधिकारी संसदीय सुनुवाइपछि मात्र नियुक्ति हुने व्यवस्था भए पनि संसद विघटनको समयमा उनीहरु विना सुनुवाइ नियुक्त भएका थिए ।

ranechhap