पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा फ्लोर क्रस हुने आशंकामा रहेका दलहरुले आफ्ना सांसदहरुलाई सुविधासम्पन्न रिसोर्टमा राखेका छन् । कांग्रेस, माओवादी र जसपाले आफ्ना सांसदहरुलाई मंगलबारदेखि पोखराको रिसोर्टमा राखेका हुन् ।
कांग्रेस र माओवादी केन्द्रका सांसदहरु लेकसाइडस्थित कुटी रिसोर्टमा छन् । जसपाले भने आफ्ना प्रदेशसभा सदस्यहरुलाई कुटी नजिकैको अर्को एक होटलमा राखेको छ ।
अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकाहरुको संख्या नघटोस् भनेर साथीहरुलाई एकै ठाउँमा राखिएको हो, एकजना प्रदेशसभा सदस्यले भने । आज पनि रिसोर्टमा नै बस्ने उनले बताए ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य दीपक कोइरालाले अविश्वास प्रस्ताव अत्यधिक मतका साथ पारित गर्ने विषयमा छलफल गर्न एकै ठाउँ भेला भएको बताए । उनले भने, ‘एकढिक्का भएर जाने र अविश्वास प्रस्ताव पारित गर्ने भन्ने कुरा भएको छ ।
उनले अविश्वासको प्रस्तावको पक्षमा ३२ भन्दा बढी प्रदेशसभा सदस्यहरुले मत दिने दाबीसमेत गरे । ‘दीपक गुरुङले म एमालेमा छैन, स्वतन्त्र छु भनिसकेको सन्दर्भ र राष्ट्रिय जनमोर्चाले पनि पक्षमा भोट हाल्छु भनिसकेको सन्दर्भमा स्पष्ट बहुमत पुग्छ, कोइरालाले भने, ‘३२ बाट घट्ने सम्भावना छैन । ३३,३४ सम्म जान सक्छ ।
गण्डकीमा तीन प्रदेशसभा सदस्य रहेको जनमोर्चासमेतको भोट पाउँदा अविश्वास प्रस्तावको पक्षमा ३१ मत पुग्छ जुन मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार ढाल्न पुग्ने संख्या हो ।
एमाले नेता गुरुङविरुद्ध नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले यही वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । गण्डकीमा नेकपा एमालेका २७ सांसद छन् ।
गण्डकी प्रदेशसभाको विशेष अधिवेशनमा मंगलबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल भएको थियो । नयाँ मुख्यमन्त्रीको रुपमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिएको छ । मंगलबारै अविश्वासको प्रस्तावमाथि मतदानमा जाने विपक्षी दलको चाहाना भए पनि बुधबारमात्र मतदान हुने सांसदहरूले बताइरहेका छन् ।
जनमोर्चाले भने अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको छैन । तर पनि अविश्वासको प्रस्तावको पक्षमा उभिने बताउँदै आएको विपक्षी दलका नेताहरुको भनाइ छ ।
कांग्रेस संसदीय दलका उपनेता मेषलाल श्रेष्ठले अविश्वासको प्रस्तावको पक्षमा रहेका सबै दलहरु मिलेर जाऔं भनेर एकै ठाउँ भेला भएको बताए । उनले भने, ‘जनमोर्चा अहिले यहाँ नभए पनि विश्वास प्रस्तावको पक्षमा गरिएको निर्णयमा तलमाथि हुन दिँदैनौं भनेको छ ।
जसपाका प्रदेशसभा सदस्य हरिशरण आचार्यले आफूहरु कांग्रेस र माओवादीका सांसदहरु बसेको रिसोर्टमा नबसे पनि अविश्वासको प्रस्तावको पक्षमा भने मतदान गर्ने बताए ।
आचार्यले भने,‘हामी हाम्रो नेतृत्वसँग छुट्टाछुट्टै बसेर छलफल गर्न पनि सजिलो होस् र स्वास्थ्य मापदण्ड पालना गर्दै सुरक्षित पनि रहन सकियोस् भनेर कुटी रिसोर्टमा नगएका हौं । अविश्वास प्रस्तावको पक्षमा मत दिँदैन कि भनेर आशंका गर्न जरुरी छैन ।
जसपाले सत्ता समीकरणको विषयमा लिखित सहमति गर्न माग गर्दै आएको छ । यद्यपि लिखित सहमति हुन सकेको छैन । लिखित भयो भने सहकार्य गर्न सजिलो हुन्छ । त्यसैले दीर्घकालीन रणनीतिक हिसाबले अगाडि बढौं भनेर हामीले भनेका हौं, आचार्यले भने, ‘लिखित भयो भने सरकारमा पनि सहकार्य गर्न सकिन्छ ।
नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य कोइराला भने मन्त्रालय बाँडफाँट अहिले आफूहरुको प्राथमिकतामा नरहेको बताउँछन् । ‘मन्त्रालय बाँडफाँट प्राकृतिक न्यायको सिद्धान्तको आधारमा हुन्छ, कोइरालाले भने, अविश्वासको प्रस्ताव पारित भएपछि त्यसमा छलफल हुन्छ ।









































