काठमाडौं । नेपाल बैकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले आफ्ना बाआमाहरुलाई पनि डिजिटल कारोबार गर्न सिकाउनु पर्ने बताएका छन् । आइतबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ग्लोबल मनि विक २०२५ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘हाम्रा हजुर आमाहरूलाई पनि डिजिटल कारोबार गर्न थाहा नहुन सक्छ । उनीहरूलाई पनि साना भाइबहिनीहरूले सिकाइदिनु पर्छ । र, कसरी कारोबार गर्ने र आफ्नो पैसाको सुरक्षित हुन्छ भन्नेबारे सिकाइदिनु पर्छ’, उनले भने ।
बचतको बानी पहिलेदेखि नै भएको बताउँदै माछापुच्छ्रे बैंकका सीईओ समेत रहेका कोइरालाले भने, ‘पहिले पहिले हामीलाई कसैले पैसा दियो भने हामी खुत्रुकेमा राख्थ्यौँ । त्यो खुत्रुके भरेपछि हामी त्यसलाई फुटाउँथ्यौ । त्यो पैसाले हामीलाई आवश्यक परेको कुराहरू खरिद गर्ने गर्दथ्यौ । बचतको कन्सेप्ट धेरै पहिलादेखि आएको हो ।’
उनका अनुसार अब विस्तारै फिजिकल क्यासको कारोबार हुन छोड्दैछ । विस्तारै डिजिटल हुँदै गएको छ । विस्तारै डिजिटलरुपमै पैसाहरू ट्रान्जेसन गर्न थालिएको छ । यसले नगदको कारोबारमा सहजता दिलाएको छ ।
डिजिटल कारोबार गर्दा ध्यान दिनुपर्ने आग्रह गर्दै उनले भने, ‘यसले भोली फ्रडका कुराहरू पनि ल्याउँछ । पछिल्लो समय डिजिटल कारोबार गर्दा जोखिम पनि निम्त्याएको छ । यति पैसा दियो भने त्यसको डबल हुन्छ भन्दै ललाइ फकाइ डिजिटल ठगी भइरहेको छ । त्यसमा सतकर्ता अपनाउनु पर्छ ।’
तल्लो तहदेखि नै वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नु पर्ने आवश्यक रहेको उनको भनाई छ । पैसा दिँदा धेरै विश्वास गरेर दिन नहुने समेत उनले सुझाव दिए ।
‘बैंकहरुमा खाता नभएहरुले खाता खोलौँ । त्यो खातामा पैसा राख्ने बानी बसालौँ र आफ्नो भविष्य सुरक्षित गरौँ’, अध्यक्ष कोइरालाले भने ।









































