वि.सं.२०८३ जेठ ११ सोमवार

केयू लगायतका विश्वविद्यालयहरुमा योग्यता, वरिष्ठता र कार्यदक्षताको आधारमा उपकुलपति नियुक्ति गर : प्राध्यापक संघ

khanepani

काठमाडौं । नेपाल प्राध्यापक संघले काठमाडौं विश्वविद्यालय (केयू) लगायतका विश्वविद्यालयहरुमा योग्यता, वरिष्ठता र कार्यदक्षताका आधारमा नियुक्ति गर्न माग गरेको छ ।

संघका अध्यक्ष प्राध्यापक डाक्टर रमेशकुमार जोशी र महासचिव सहप्राध्यापक नरेन्द्रप्रसाद सिवाकोटीले आज विज्ञप्ति जारी गर्दै केयू लगायतका विश्वविद्यालयहरुमा रिक्त पदहरुमा योग्यता, वरिष्ठता र कार्यदक्षताका आधारमा नियुक्ति गर्न माग गरेका हुन् ।

‘काठमाडौं विश्वविद्यालयको उपकुलपति, विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव, नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्ष, राजर्षि जनक विश्वविद्यालय सेवा आयोगको अध्यक्ष, खुल्ला विश्वविद्यालयको पदपूर्ति समितिको अध्यक्ष लगायत अन्य पदहरूमा लामो समयदेखि नियुक्ति हुन नसकेकोबारे नेपाल प्राध्यापक संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘विश्वविद्यालयहरूमा समयमै नियुक्ति नहुँदा पठनपाठन, दैनिक प्रशासन, प्राध्यापक तथा कर्मचारीहरूको वृत्ति विकास र अन्य महत्वपूर्ण कार्यहरूमा गम्भीर ढंगले प्रभावित भएको हुँदा योग्यता, वरिष्ठता एवं कार्य दक्षताका आधारमा यथाशीघ्र नियुक्ति गर्न जोडदार माग गर्दछौं ।’

साथै केयूको उपकुलपति नियुक्तिका सम्बन्धमा सो विश्वविद्यालयका प्राध्यापक संघका अध्यक्ष डा. विकास अधिकारीप्रति विभिन्न व्यक्तिहरूले दबाब र त्रास सृजना गरेकोमा पनि संघले विरोध जनाएको छ । यस्तो कार्य पुनः दोहोरिएमा कठोर कदम चाल्न बाध्य हुने चेतावनी संघले दिएको छ ।

ranechhap