जनकपुरधाम । पर्साको कालिकामाई गाउँपालिका- ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीहरु अचानक बेहोस हुन थालेपछि अभिभावकहरु चिन्तित बनेका छन् ।
विद्यालयमा अध्ययनरत १८ विद्यार्थी सोमबार अचानक बेहोस भएर लडेका थिए । उनीहरुको अवस्था उपचारपछि सामान्य बनेको छ । यो समस्या देखिएपछि गाउपालिकाले दुई दिनका लागि विद्यालय बन्द गरेको छ ।
विद्यार्थीहरु अचानक बेहोस हुनुलाई चिकित्सकले ‘मास हेस्टोरिया’भनेका छन् । तर स्थानीयले भूतप्रेतले सताएको दावी गरेका छन् ।
बुधवार विद्यालयका शिक्षक र अभिभावकहरुको बैठकले समस्या समाधान गर्न नजिकै रहेको समसानघाट अर्को ठाउँमा सार्ने सहितका तीन बुँदे निर्णय गरेका छन् ।
वडाध्यक्ष संजय साहको अध्यक्षतामा बसेको शिक्षक र अभिभावकहरुको बैठकले मनोबिज्ञहरुलाई बोलाएर विद्यार्थीहरुलाई परामर्श दिने, विद्यालयसँग टाँसिएको समसानघाट अर्को ठाउँमा सार्ने र शान्ति स्थापनाका लागि पूजा पाठ गराउने निर्णय गरेका छन् ।
वडाध्यक्ष साहले पढ्न गएका छात्र-छात्राहरु अचानक बेहोस हुने समस्या समाधान गर्न तीन बुँदे निर्णय गरेको जानकारी दिए ।