वि.सं.२०८१ चैत ३ आइतवार

मेयर बालेन्द्र साहले फेसबुकमा ६ बुँदे स्टाटस लेखेर प्रधानमन्त्रीको गरे कडा आलोचना

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फेसबुकमा ६ बुँदे स्टाटस लेख्दै सरकारमाथि फेरि प्रहार गरेका छन् । ‘भ्रमको खेतीमा पीएचडी दिन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुने’ उनको टिप्पणी छ ।

महानगरमा प्रमुख प्रशासकीय अधिकृत पूर्तिसम्बन्धी विवादलाई लिएर उनले यो टिप्पणी गरेका हुन् । प्रशासकीय अधिकृत खाली रहेकोमा उनले संघीय सरकारमाथि दोष थापरेका छन् ।

भ्यू टावरको नक्सा पासको स्वीकृति मेयरले दिएको भन्ने भ्रम फैलाइएको भन्दै बालेनले असन्तुष्टि जनाएका छन् ।

उनी लेख्छन्, ‘कहिलेदेखि नक्सापास मेयरले गर्न थाले ? सामान्य कानुनको ज्ञान राख्नेले पनि भन्न सक्छ कि यसको अधिकार मेयरसँग हुँदैन । कानुनले यही भन्छ । अनि यो पब्लिक प्राइभेट पार्टनरसीपले नक्सापास गर्ने अधिकार कार्यपालिकालाई दिइएको छ । अनि नक्सापास गर्न बसेको व्यक्ति स्वयंले नक्सापास गरिसकेपछि पनि बारम्बार दुई महिनासम्म पीपीपीमा कसरी नक्सापासको काम गराउने भन्ने विषयमा बैठक बसेको प्रमाण हामीसँग सुरक्षित छ ।’

प्रशासकीय अधिकृतलाई महानगरले टिकाउने नसकेको आरोपको पनि उनले खण्डन गरेका छन् । आफ्नो कार्यकालमा अहिलेसम्म ४ जना कार्यकारी हटेको र उनीहरुमध्ये दुईजना भ्रष्टाचारमा संलग्न रहेको भनेर हटाइएको उनले बताएका छन् ।

‘के कार्यकारी टिक्छन् भन्ने देखाउन हामीले भ्रष्टहरूलाई संरक्षण गरिराख्नु पर्ने हो ? २ जनालाई सरकारले हटाएको हो, त्यो पनि महानगरलाई जानकारीसमेत नदिएर,’ बालेनले लेखेका छन् ।

काठमाडौं महानगरमा कार्यकारी जान मान्दैनन् भन्ने सरकारको भाष्य लज्जास्पद, लाचार र गैरजिम्मेवार रहेको उनको आरोप छ । सरकारले आफु मातहतका एकजना कर्मचारीलाई आवश्यकता अनुसार काममा लगाउन नसक्ने पुष्टि भएको उनले बताएका छन् ।

‘अहिले कर्मचारी जान मान्दैनन् भन्दै राजधानीको महानगरमा कर्मचारी पठाउन नसक्ने सरकारले भोलि दंगाग्रस्त क्षेत्रमा सिडिओ जान मानेनन् भनेर पठाउन नसक्ला, अपराध रोक्न पुलिस जान सकेन भनेर पठाउन नसक्ला,’ उनले लेखेका छन् ।

ऐनले पालिकालाई नै निमित्त तोकेर काम गर्ने अधिकार दिएको छ भन्ने भ्रम फैलाइएको भन्दै उनले त्यसको पनि खण्डन गरेका छन् । संघीय सरकारले मात्र यो काम गर्न सक्ने उनको भनाइ छ ।

प्रशासकीय अधिकृतमाथि भएको छानबिनको रिपोर्ट लुकाइयो भन्ने उपप्रमुख सुनीता डंगोलको आरोपलाई बालेनले नकारेका छन् । प्रतिवेदन बन्दै नबनेको उनी बताउँछन् ।

‘लुकाउनलाई त हुनु पर्‍यो नि, होइन ? रिपोर्ट बनेकै छैन, लुकाइयो भन्ने भ्रम फैलाइन्छ,’ उनले लेखेका छन् ।

मन्त्रीसँग समन्वय नगरेको आरोपमा पनि उनले प्रष्टीकरण दिएका छन् ।

‘मन्त्रीसँग समन्वयन गर्नु भनेको के हो ? पत्र लेख्ने, आधिकारिक संयन्त्रबाट सम्पर्क गर्ने, त्यहि होइन ? विधि र वैधानिकतालाई समन्वयसमेतको मान्यता नदिएर के व्यक्तिगत अन्तरंगमात्र खोजेको हो सरकारले ?’ उनले लेखेका छन् ।

बालेनले प्रधानमन्त्री केपी ओलीको आफू दुश्मन नभएर विकासको साझेदार भएका बताएका छन् । प्रधानमन्त्रीका ‘भ्रष्ट कार्यकर्ता’ सँग कुनै हालतमा नझुक्ने उनको टिप्पणी छ ।

‘जति भ्रम फैलाए पनि, हामी तपाईँको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ । महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन । सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिनँ ।’