वि.सं.२०८२ वैशाख ९ मंगलवार

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले भने, ‘आंशिक लकडाउन हुनसक्छ, देशभर लकडाउन गर्दैनौं’

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले तत्काल देशभर लकडाउन नगर्ने बताएका छन् । लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको पनि उनले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक सकिएपछि आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले भने,‘अहिले तत्काल हामी नेशनवाइड लकडाउन चाहिँ गर्दैनौं । अहिलेको हाम्रो आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने नै छ ।

उनले अर्थतन्त्र र जनजीविकामा लकडाउनले प्रभाव नपरोस् भन्ने सरकारको चाहना रहेको बताए ।

लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्छ र अलिकति पुस गर्ने मात्रै हो । आफैंमा अन्तिम समाधान होइन, मन्त्री ज्ञवालीले भने, ‘भर्खर–भर्खर अर्थतन्त्र तंग्रिन लागेको हुनाले सकभर अर्थतन्त्रमा र मान्छेको जीविकामा प्रभाव नपरोस् भन्ने सरकारको चाहना छ । त्यसो भएको हुनाले हटस्पटहरुमा पार्सल्ली लकडाउन हुन सक्छ तर त्यो लोकल मात्रै, नेशनवाइड लकडाउन चाहिँ हुँदैन ।