काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बिन्दवासिनी कंसाकारले नेपालमा आगलागी र त्यसबाट मानिसहरू जलनमा पर्ने क्रम बढेको बताएकी छन् ।
आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले अघिल्लो शनिवार खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागी भएको बताइन् । शनिबार भएको कारणले गर्दा खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी हुँदा मानवीय क्षति नभएको ख्याल गर्नुपर्ने उनको आग्रह छ ।
हिजो शनिबार पोखरामा बेलुुन पड्किएर त्यसको जलनबाट उपप्रधन तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य प्रभावित भएको बताइन् । दुवैलाई उपचारका लागि हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंको कर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको छ । सांसद कंसाकारले दुवैको स्वास्थ्य लाभको कामना गरिन् ।
सांसद कंसाकारले काठमाडौंकै कमलपोखरी स्थित शानदार मम सेन्टरमा आगलानी भएको पनि स्मरण गरिन् । उक्त आगलागीबाट पीडित भएकाको उद्धारका लागि एम्बुलेन्स नपाएर गाडीको हुटमा राखेर उद्धार गरिएको बताइन् ।
‘तर, अस्ति भर्खर शान्दार मममा ग्याँस विस्फोट हुँदा, सर्वसाधारण जल्दा एम्बुलेन्स नपाएर गाडीको हुटमा उद्धार गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । आज मन्त्रीज्यु र मेयरज्युलाई हेलिकप्टरबाट उद्धार गरिएको छ,’ सांसद कंसाकारले भनिन् ।
शान्दार मममा भएको ग्यास विस्फोटमा परेर चार जनाको मृत्यु भएको छ ।
नेपालमा आगलागीको घटना बढिरहेको भन्दै उनले सरकारले पूर्व तयारीमा ध्यान दिनुपर्ने बताइन् । ‘नेपालमा अकुपेस्नल सेफ्टी एण्ड हेल्थलाई प्राथमिकता दिइँदैन । जसका कारण उच्च पदस्थ व्यक्तिहरू समेत दुर्घटनाको सिकार भइरहेका छन्,’ उनले भनिन् । थिङ्क सेफ्टी, डु सेफ्टी भन्ने अवधारणा केवल नारामा मात्र सिमित हुन पुगेको उनको भनाइ छ ।
जलन जसलाई जहाँ जुन बेला पनि हुन सक्ने र यसले ठूलो मान्छे र जो पनि पीडित हुन सक्ने, ज्यान जान सक्ने र अपांगता हुन सक्ने उनले बताइन् । यही आवश्यकता महसुस गरेर आफूले संसद्मा गैरसरकारी विधेयक दर्ता गरेको पनि उनले स्मरण गरिन् ।
आफूले सात महिना अगाडि नै दर्ता गरेको उक्त विधेयक अगाडि बढ्न नसकेको भनेर उनले सदनकै ध्यानाकर्षण गरिन् । जलनै कारण नेपालमा बार्षिक ६० हजार देखि ६५ हजार नागरिक जल्ने गरेको तथ्याङ्क रहेको उल्लेख गर्दै उनले आफूले ल्याएको विधेयक पारित गरे क्षेति न्युनीकरण गर्नमा मद्दत पुग्ने बताइन् ।
‘जलन विधेयक पारित गरौं । जलन उपचार केन्द्र स्थापना गरौं र आवश्यक स्रोत साधन, दक्ष जनशक्ति तथा आपतकालिन उद्धार प्रणालीमा नेपाल सरकारको ध्यानाकर्षण होस्’ उनले भनिन् ।