काठमाडौं । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनमा नेतृत्व चयन प्रक्रियामा विवाद बढेपछि १२औं महाधिवेशन दुई दिन लम्बिएको छ ।
राष्ट्रिय सभागृहमा माघ ३० गते उदघाटन भएको महाधिवेशन फागुन १ गते सक्ने तालिका थियो । तर सहमतिमा नेतृत्व चुन्ने कि निर्वाचनबाट भन्नेमा विवाद चर्किएपछि आज फागुन ३ गतेसम्म पनि महाधिवेशन जारी छ ।
आज शनिबार बिहान महाधिवेशन प्रतिनिधिहरुलाई क्वालिटी बैंक्वेटमा उपस्थित गराइएको छ । यसअघि राष्ट्रिय सभागृहबाट महाधिवेशनस्थल कार्की बैंक्वेटमा सारिएको थियो ।
बबरमहलस्थित कार्की बैंक्वेटमा आज बिहे समारोह भएकाले संगठनको महाधिवेशन बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सारिएको हो ।
कार्यान्वयन भएन निर्वाचन तालिका
अध्यक्षका दाबेदार रेवन्त गौतम र भवानी दाहालका पक्षमा प्रतिनिधिहरु विभक्त छन् । गौतमका समर्थक निर्वाचनबाट नेतृत्व चुन्नुपर्ने पक्षमा छन् भने दाहालका समर्थकले सहमतिमा जोड दिएका छन् ।
यही विवादका कारण निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको निर्वाचन तालिका पनि कार्यान्वयन भएन ।
आयोग अध्यक्ष बाबुराम थापाले शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने र अन्य प्रक्रिया पूरा गरी राति ११ बजेपछि मतदान गर्ने तालिका सार्वजनिक गरेका थिए । तर उम्मेदवारी नै दर्ता नभएपछि प्रतिनिधिहरुले छिटो नेतृत्व चयन सुरु गर्न माग गर्दै हलमा नाराबाजी गरेका थिए ।
अध्यक्ष मण्डलले भने शुक्रबार बेलुका ९ बजेपछि अर्को दिन बिहान ८ बजेसममका लागि भनेर महाधिवेशन स्थगित गरिदिएको थियो ।
महाधिवेशन स्थगित गरी कर्मचारी संगठनका नेताहरु प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका थिए । अध्यक्ष मण्डल, निर्वाचन मण्डल, अध्यक्षका दाबेदारहरु लगायतसँग ओलीले राति अबेरसम्म छलफल गरेका थिए ।
संगठनका हालका अध्यक्ष लेखनाथ कोइरालाले पनि भवानी दाहाललाई अध्यक्ष बनाउनुपर्ने अडान लिएका छन् । पूर्व अध्यक्षहरूले भने गौतमको नाम अघि सारेका छन् ।
जनवर्गीय संगठन विभाग प्रमुख भानुभक्त ढकालले पनि भवानी दाहालको पक्ष लिएका छन् ।
उनले महाधिवेशनको उदघाटनसत्रमै प्रधानन्यायाधीश र नेपाल पत्रकार महासंघको अध्यक्ष महिलालाई बनाएको भन्दै अब संगठनको अध्यक्ष पनि महिला नै हुने अभिव्यक्ति दिएपछि चुनाव माग गर्दै आएका गौतम समर्थकहरु भड्किएका थिए ।