वि.सं.२०८१ चैत ११ सोमवार

मेयरबाट धम्की र उनका छोराबाट कुटाइ खाएका विदेहका अधिकृतले सुरक्षा माग्दै प्रधानमन्त्रीलाई पठाए पत्र

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार साहले मेयर र उनका छोराबाटै असुरक्षित बनेको भन्दै प्रधानमन्त्री केपीशर्मा ओलीलाई पत्र पठाएर सुरक्षा मागेका छन् ।

शिक्षक सेवा आयोगबाट सिफारिस भई आएका शिक्षिकालाई हाजिर गराएको निहुँमा अधिकृत साहलाई मेयरका छोरा रामभजन दासले कुटपिट गरेका हुन्। सो घटनापछि आएका मेयर दासले पनि अधिकृत साहलाई उल्टै प्रहरीकै सामुन्ने गोली मार्ने धम्की दिए ।

घटनापछि मंगलबार अधिकृत साहले जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर आफ्नो सुरक्षा र कुट्ने मेयरका छोरा तथा धम्की दिने मेयरलाई पक्राउ गरी कारबाही गर्न उजुरी दिएका थिए । उनले आज प्रधानमन्त्री ओलीलाई पत्राचार गरेका हुन् ।

अधिकृत साह माघ २ मा नगरपालिकामा हाजिर भएका थिए ।

उनले आफू २५ दिन कुनै बिदा नलिई छुट्टीको दिन समेत विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म काम गरेको प्रधानमन्त्रीलाई पठाएको पत्रमा उल्लेख गरेका छन् । उनले पठाएको पत्रमा २५ दिनमा गरेको २४ कामको विस्तृत विवरण पनि उल्लेख छ ।

‘गरिब रेखामुनी एवम् एचडिआईमा तल परेको विदेह नगरपालिकाको जनतालाई सेवा गर्ने अनुकुल वातावरणमा काम गर्न पाउने मेरो चाहना छ’, उनले लेखेका छन्, ‘यस्तो परिस्थितिमा असक्षम कर्मचारी कहलिएर २ वर्ष भन्दा अगावै १ महिनामै म सरुवा हुन चाहन्न ।’

उनले अधिकृत साहले घटनामा संलग्न मेयर दास र उनका छोरालाई आवश्यक कारबाही गरेर अगामी दिनहरुमा यस्ता घटना नदोहोरिनका लािग न्यायोचित कदम चालेर म एउटा सामान्य नेपाल सरकारको कर्मचारीलाई न्याय दिलाई पाउँ भन्ने अनुरोध प्रधानमन्त्रीलाई गरेका छन् ।

मेयर दास नेकपा एमालेबाटै निर्वाचित छन् ।

यस्तै अधिकृत साहले राष्ट्रिय सतर्कता केन्द्रलाई समेत घटनाबारे जानकारी गराउँदै मेयरले कर्मचारी लगाएर दर्ता चलानी, हाजिरी आफ्नो मातहतमा लिई भ्रष्टाचार लुकाउन सक्ने सम्भावना रहेकाले स्थलगत अनुगमन गरी छानविन गर्न माग गरेका छन् ।