वि.सं.२०८१ चैत ११ सोमवार

कांग्रेस-एमालेको अधिनायकवादले देश अधोगतितर्फ जाँदैछ : झलनाथ खनाल

विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले मुलुकलाई अधोगतितर्फ लगिरहेको बताएका छन् ।

विराटनगरमा सोमबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस-एमाले दुई ठूला दल मिलेर बनेको सरकारले देश अधोगतितर्फ गइरहेको बताएका हुन् ।

‘मुलुक बडो गहिरो संकटतर्फ धसिदै गइरहेको छ, दुई पार्टीको अधिनायकवादले मुलुकलाई अग्रगतितर्फ होइन अधोगतितर्फ लाँदैछ,’ उनले भने, ‘ लोकतान्त्रिक मूल्य मान्यतामाथि चुनौती दिने खालको स्थिति देखा पर्दैछ ।’

राजनीति संकटग्रस्त बनिरहेको बताउँदै उनले समग्र अवस्था कमजार हुँदै गएको बताए ।

दुई दलको सरकार बनेपछि भ्रष्टाचारीले उन्मुक्ति पाइरहेको उनले बताए ।

वर्तमान संविधान पूर्णरुपमा कार्यान्वयन भइनसकेको बताउँदै उनले अहिलेको अवस्थामा संविधान संशोधन आवश्यक नरहेको पनि बताए ।