वि.सं.२०८१ फागुन १ बिहीवार

अब अत्यावश्यक परेका व्यक्तिले तत्काल स्मार्ट लाइसेन्स पाउने

काठमाडौं । लामो समयदेखि रोकिएको सवारी चालक अनुमति-पत्र (स्मार्ट लाइसेन्स) अति आवश्यक परेका व्यक्तिले तत्काल पाउने भएका छन् । यातायात व्यवस्था विभागले निर्देशिका बनाएर अति आवश्यक परेकाहरुलाई लाइसेन्स प्रिन्ट गरेर दिन थालेको हो ।

निर्देशिका आउनु अघि विदेश जानेहरुका लागि मात्रै तत्काल लाइसेन्स उपलब्ध गराइन्थ्यो । अब भने नेपालमै बस्नेहरुले पनि आवश्यकताअनुसार लाइसेन्स पाउने भएका हुन् ।

नयाँ निर्देशिकाअनुसार लाइसेन्स आवश्यक भएको खुलाएर निवेदन दिनेले ३ दिनभित्रै स्मार्ट लाइसेन्स पाउनेछन् । उक्त व्यवस्था गर्न विभागले अति आवश्यक चालक अनुमतिपत्र छपाइसम्बन्धी निर्देशिका, २०८१ जारी गरेको थियो ।

विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ६२ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशिका बनाएको हो ।

निर्देशिका अनुसार वैदेशिक रोजगार, वैदेशिक अध्ययन, मिसन, गैरआवासीय नेपाली, कूटनीतिक नियोगका पदाधिकारीलगायत सवारी चालक अनुमतिपत्र अत्यावश्यक भएकाले नयाँ लाइसेन्स पाउने छन् ।

विभागमै उपस्थित भएर वा विभागको वेबसाइटमा गएर लाइसेन्स आवश्यक परेको कारण खुलाई नयाँ लाइसेन्स प्रिन्टको लागि आवेदन दिन सकिनेछ ।

नयाँ लाइसेन्स प्रिन्टका लागि नाम, ठेगाना, नागरिकता वा राष्ट्रिय परिचयपत्र नम्बर, जारी मिति, नवीकरण भएको भए सो मिति, तत्काल आवश्यक पर्नुको कारण खुलाउन पर्नेछ । तत्काल नै प्रिन्ट गर्न नागरिकताको प्रतिलिपि, राजस्व तिरेको सक्कल प्रति र लाइसेन्स आवश्यक परेको पुष्टि हुने कागजात आवश्यक पर्छ ।

सार्वजनिक र सरकारी प्रयोजनको लागि/आबद्ध भएको पेसा र रोजगार/वैदेशिक रोजगारी प्रवेशाज्ञा प्राप्त गर्न/रोजगारीका लागि आवेदन गर्न चालक अनुमतिपत्र अत्यावश्यक भएकाले लाइसेन्स पाउने विभागले जनाएको छ ।

उक्त व्यवस्था भएसँगै यातायात व्यवस्था विभागमा नयाँ लाइसेन्स प्रिन्ट गराउन आउनेको भीड लागेको छ । निर्देशक गणेशमान सिंह राईले विभागले निर्देशिका नै बनाएर अति आवश्यक परेकाहरुलाई लाइसेन्स प्रिन्ट गरेर पुस अन्तिमबाट दिन सुरु गरेको बताए ।

उनले भने, ‘अति आवश्यक परेका सेवाग्राहीहरुले आवश्यक परेको कारण खुलाई लाइसेन्स प्रिन्ट गर्न निवेदन दिन सक्नेछन् । पहिले विदेश जानेहरुले मात्रै नयाँ लाइसेन्स पाउने गरेकोमा अहिले आवश्यक परेकाले कारण खुलाइ निवेदन दिएकाले पनि नयाँ लाइसेन्स पाउनेछन् ।’

विभागले हालसम्म साढे ३८ लाख लाइसेन्स छपाइ गरेर वितरण गरेको छ । अझै ३० लाख सवारी चालक स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका छन् ।

Untitled