वि.सं.२०८३ साउन २७ बुधवार

कीर्तिपुर स्ववियु अध्यक्षसँग अनेरास्ववियुका बिष्टले मागे कार्यक्रम र खर्चको विवरण

khanepani

काठमाडौं । त्रिविको केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियुको कार्यक्रम र खर्चको विवरण माग गरिएको छ ।

अनेरास्ववियुको तर्फबाट केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु अध्यक्षका उपविजेता प्रकाश बिष्टले नेपालको संविधानको धारा २७ को सूचनाको हक तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ को धारा ३, ४ र ५ को प्रावधानमा टेकेर स्ववियु समक्ष सूचना माग गरेका हुन् ।

बिष्टले सूचनामा हालको स्ववियु निर्वाचित भएपश्चातका दुई वर्षहरुको लेखा परीक्षण प्रतिवेदन तथा बैठक तथा निर्णयका माइन्यूटहरु समेत माग गरेका हुन् ।

स्ववियुलाई मिनि पार्लियामेन्टको रुपमा रुपान्तरण गर्नुपर्ने भविष्यको वृहत योजनाको यो पहिलो कदमको रुपमा हुनसक्ने भन्दै स्ववियुको न्यूनतम जिम्मेवारीमा पर्ने कार्य भएको बिस्टले बताए । त्यस्तै, स्ववियुले विद्यार्थीको हक हित तथा शैक्षिक विकासका लागि रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने तथा आर्थिक पारदर्शितामा उदाहरण पेश गर्नुपर्ने भन्दै सूचना माग गरिएको उनको भनाइ छ ।

राजनीति सिक्ने नर्सरी भएका कारण जरैबाट पारदर्शिताको आधारमा संस्थाहरु संचालित हुनुपर्छ भन्ने अभ्यासका लागि पनि पदमा रहेकाहरुलाई थप जिम्मेवार बनाउन यस कदम चालिएको हो ।

‘त्रिविको उपकूलपति, रजिष्टारलगायत निकायमा विद्यार्थीले पारदर्शिता भएन भनेर आन्दोलन गरिन्छ भने विद्यार्थीको स्ववियु चाहिँ कतिको विश्वस्त हुने ठाउँ छ त सचेत विद्यार्थीले खोज्नुपर्यो भनेर सूचना माग गरेको हुँ’, बिष्टले भने ।

सार्वजनिक संस्था भएकोले दायित्व भित्र पर्ने तर दायित्वमा परेतापनि सार्वजनिक गर्नुपर्छ भन्ने ज्ञान नभएको हो वा नचाहेको हो स्ववियुलाई झक्झक्याउन पनि सूचना माग गरिएको उनको भनाइ छ ।

स्ववियुलाई नयाँ आयामहरुबाट गति दिनलाई समेत यो नौलो प्रयास भएको बिष्टले बताए ।

केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले बिष्टले माग गरेको सूचना एक साताभित्र उपलब्ध गराउने आश्वासन दिएका छन् । ओझाले दिएको समय सीमामा सूचना प्राप्त हुने आशा आफूहरुले गरेको बिष्टले जनाएका छन्

ranechhap