वि.सं.२०८३ साउन २८ बिहीवार

शिक्षकको पेन्सनपट्टा बनाइदिन घुस लिएका किताबखानाका शाखा अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा दायर

khanepani

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले राष्ट्रिय किताबखाना (शिक्षक) छाउनीका शाखा अधिकृत प्रसाई, कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पेन्सनपट्टा बनाई दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले धनेश्वर प्रसाईलाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा शाखा अधिकृत प्रसाई, कार्यालय सहयोगी अधिकारी र बिचौलिया न्यौपानेसमेतको मिलोमतोमा सेवाग्राहीको नियमानुसार पेन्सनपट्टा (निवृत्तभरण अधिकार पत्र) बनाई दिनको लागि बिभिन्न बहाना बनाई तीन लाख रुपैयाँ घुस र रिसवत लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

शाखा अधिकृत धनेश्वर प्रसाई र कार्यालय सहयोगी भवानी अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो तीन लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन माग दाबी गरिएको छ ।

साथै बिचौलिया सुदर्शन न्यौपानेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा बिगो तीन लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

ranechhap