काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीलाई भुक्तानी गर्न बाँकी नरहेको जिकिर गरेका छन् ।
आइतबार अर्थतन्त्र: नीति र व्यवहार सम्बन्धी कार्यक्रममा बाेल्दै अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीको भुक्तानीमा कुनै समस्या नरहेको दाबी गरेका हुन् ।
निर्माण व्यवसायीले सरकारले कामको भुक्तानी नदिएर समस्या भइरहेको भनिरहँदा अर्थमन्त्री पौडेलले रितपूर्वक आएको तिर्न बाँकी पैसा तिरिसकेको उनले बताए ।
‘रितपूर्वक क्लेम गरिएका दाबीको भुक्तानी बाँकी छैन । र, बाँकी पनि रहँदैनन । निर्माण व्यवसायीको भुक्तानी आजको भन्दा पनि हिजोको हो । त्यो भुक्तानी दायित्व सरकारले पूरा गरिसकेको छ’, अर्थमन्त्री पौडेलले भने,’करिब करिब हामीले अघिल्लो वर्षको बाकी भुक्तानी हामीले गरिसकेका छौं । कसैले रितपूर्वक भुक्तानी माग्छ भने उसले सहज ढंगले भुक्तानी पाइसकेका छन् ।’
पुँजिगत खर्च भएन भनेर चर्चा गर्नु भन्दा किन हुन सकेको छैन भनेर छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ । अर्थमन्त्री पौडेलले भने, ‘पुँजिगत खर्च भएन भएन मात्रै भन्ने गरिएको छ । यसो भनेर मात्र पुग्दैन । किन भएन भन्ने विषयमा प्रवेश गर्नु पर्ने अपरिहार्य भएको छ ।’
गत वर्षको तुलनामा पुँजिगत खर्च बढेको उनले दाबी गरे । यसबारे तुलनात्मकरूपमा केहि सुधार भएको छ । तर यो पर्याप्त नभएकाले यसबारे सुधार गर्नु पर्ने उनको तर्क छ ।
त्यस्तै उनले अहिले खुल्ला सीमानाका कारण भन्सार छलेर विभिन्न वस्तु नेपाल ल्याईरहेकोबारे ध्यान दिनु पर्ने आवश्यकता रहेको औँल्याए ।
पोलिसि रिफर्म मार्फत निजी क्षेत्रको मनोबल बढाउन खोजिएको उनले बताए । यसबाट निजी क्षेत्र उत्साहित भएको समेत उनले बताए ।
‘सरकारले ल्याएका अध्यादेश अनुसार एक हप्ता भित्रै नियमावली बनाएर कार्यान्वयन गर्नेछौं,’ उनले भने ।









































