वि.सं.२०८१ चैत ११ सोमवार

प्रधानमन्त्री ओलीले भने, ‘एमालेको तर्फबाट राष्ट्रिय सभाको रिक्त स्थानमा बादलनै उम्मेदवार हुने’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते हुने राष्ट्रिय सभाको उप निर्वाचनमा रामबहादुर थापा बादल नै उम्मेद्वार हुने बताएका छन्।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले थापालाई नै आगामी उप निर्वाचनको उम्मेद्वार बनाउने निर्णय गरेको हो।

‘हाम्रो पार्टी तिर लागेका कारणले माओवादीले कारबाहीको नाममा रिक्त बनाएका पदहरू ३५ दिनदेखि ६ महिना भित्र हुने चुनावमा पुनः जिताएर ल्याइनेछ’, ओलीको भनाई उद्धृत गर्दैं एक नेताले भने, ‘जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा राम बहादुर थापा नै हाम्रो उम्मेदवार हो। आवश्यक समयमा औपचारिक निर्णय गरिनेछ।’

ओलीले बैठकमा ‍आफूहरूले पार्टीबाट निष्कासन गरेका मान्छेले दोहोर्‍याएर चुनाव नजित्ने दाबी गरेका छन्। ‘हामीले निष्कासन गरेका मान्छेहरू दोहोर्‍याएर जित्दैनन्’, ओलीको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘आउने उप निर्वाचनहरुमा पनि हाम्रालाई कारबाही गरिए उहाँहरूनै उम्मेदवार हुने हो। हामीले कारबाही गरेको ठाँउमा प्रदेश कमिटीको इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष, सचिव भएर होमवर्क गर्नुस जनता पुनः एमालेको पक्षमा छ भन्ने सन्देश दिनुछ।’

उनले माओवादीबाट एमालेमा आएका नेताहरूले जित्ने दाबी गरे।
‘पूर्व माओवादी साथीहरू प्रचण्डको डर, धम्की, मुद्दा सामना गरेर आफ्नो सांसद पद त्यागेर जुन ढंगले लाग्नुभयो। उहाँहरूलाई पुनः चुनाव गराएर जिताइनेछ र एमालेमा लागेपछि जसरी पनि संरक्षण हुन्छ’, ओलीको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘केपी ओली अध्यक्ष भएको पार्टीमा कसैलाई अन्याय हुँदैन। हामी पार्टी ध्वस्त बनाउने, पार्टी कार्यालय कब्जा गर्नेजस्ता चरण सामना गरेर आएका छौं। अब हाम्रो भागमा जित मात्र छ । ७४ सालमा पपुलर मत ४४ लाख मत पाएको हो। अब ५० लाख ल्याउने हो।’