काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समयपछि नेता वामदेव गौतमसँग बालुवाटारमै भेटघाट गरे।
बिहीबार बेलुकी ओली र गौतमबीच भेटवार्ता भएको थियो। उनीहरूले ‘डिनर मिटिङ’ गरेका थिए।
ओली(गौतम भेटवार्तामा कानुन मन्त्री लिलानाथ श्रेष्ठ र एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई पनि सँगै थिए।
उक्त भेटवार्तामा गौतमले ओलीसँग आफ्नो अटुट सम्बन्ध रहेको र रहिरहने बताएको भट्टराईले उल्लेख गरेका थिए।
शुक्रबार बिहान गौतमले ओलीसँग भएका कुराकानीबारे मुख खोलेका छन्।
उनका प्रेस सल्लाहकार विश्वमणि सुवेदीमार्फत् गौतमले आफ्ना कुरा सार्वजनिक गर्दै गत फागुन २८ को निर्णय फिर्ता लिन आफूले ओलीसँग आग्रह गरेको बताएका छन्।
‘हिजो बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कमरेड केपीसँग डिनर मिटिङ भयो। उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो,’ गौतमले भनेका छन्, ‘मैले गत फागुन २८ गते तपाईंले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिए।’
गौतमले थपेका छन्, ‘डिनर चल्दै थियो, नमस्कार गरेर म बिदा भएँ।’
प्रधानमन्त्री ओलीले पार्टीमा विवाद बढ्दै गएपछि पछिल्लो समय संवाद अगाडि बढाएका छन्। उनले बिहीबार र बुधबार नेता माधव नेपालसँग पनि कुराकानी गरेका थिए।
नेता नेपालले पार्टीमा समानान्तर गतिविधि गरिरहेका छन्। ओलीले नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण पनि सोधेका छन्।