वि.सं.२०८१ फागुन ३ शनिवार

रवि लामिछानेको थुनछेक बहस आज नसकिएपछि, छोडियो आइतबार हाजिर हुने गरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस जिल्ला अदालत रुपन्देहीमा आज पनि जारी रह्यो । बहस नसकिएपछि न्यायाधीशले आइतबार पुनः उपस्थित हुने गरी लामिछानेलाई छोडेका छन् ।

आज जाहेरीकर्ताको तर्फबाट तीनजना र प्रतिवादीको तर्फबाट तीन वकिलले बहस गरे । जाहेरीकर्ताका तर्फबाट सुरेन्द्र भण्डारी, आरसी गौतम र सैलेन्द्र कुमार यादवले बहस गर्दै लामिछानेलाई थुनामा पठाउन माग गरेका थिए ।

प्रतिवादी तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा र अर्का वकिलले लामिछानेलाई साधारण तारेखमा छोड्नुपर्नेमा जोड दिएका थिए ।

जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र आरसी गौतमले बहस गरेका थिए । आरसी गौतमले रकम अपचलनमा प्रत्यक्ष संलग्नता देखिएको भन्दै रवि लामिछानेलाई थुनामै राख्नुपर्ने माग गरे ।

अधिवक्ता गौतमले लामिछानेको खातामा सहकारीको २ करोड रुपैयाँ गएको र उनी आफैंले चेक काटेर ४० लाख ९२ हजार सहकारीको किस्ताबापत भुक्तानी गरिएकाले सहकारी ठगीमा संलग्नताको पुष्टि भएको जिकिर गरेका छन् ।

बहसमा गौतमले रविले कम्पनी खोल्न पाउने अधिकार प्रयोग गर्दै त्यसलाई गलत तरिकाले रंगरुपी अधिकार प्रयोग गरेकाले त्यो अनैतिक हुने पनि जिकिर गरेका थिए । यसअघि जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बहस गरेका थिए ।

जाहेरवालाको बहस सकिएपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र सुरेन्द्र थापाले बहस गरेका छन् । दुवैले अभियोग पत्रमा भएका तथ्यको प्रतिवाद गर्दै सहकारी ठगी र संगठित अपराधमा रविलाई मुद्दा चलाउनै नमिल्ने जिकिर गरेका थिए ।

प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितका वकालतनामा लेखाएका ८ वकिलले आइतबार बहस गर्ने श्रेष्तेदार ज्ञवालीले बताए । त्यसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ ।

Untitled