काठमाडौं । अभिनेता सैफ अलि खानमाथि आक्रमणको घटना नसेलाउँदै केही भारतीय कलाकारहरुलाई एकमुष्ट ज्यान मार्ने धम्की आएको छ । सबै कलाकारहरुले अलग-अलग प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
धम्की खेप्नेमा चर्चित स्ट्यान्ड अप कमेडियन कपिल शर्मासहित हास्य कलाकार राजपाल यादव, गायिका-अभिनेत्री सुगन्धा मिश्रा र कोरियोग्राफर रेमो डिसुजा रहेका छन् ।
उनीहरुलाई इमेलमार्फत पाकिस्तानबाट धम्की आएको भारतीय मिडियाको दाबी छ । धम्कीयुक्त इमेलमा लेखिएको छ- ‘हामी तिमीहरुको ताजा गतिविधि निगरानी गरिरहेका छौं र हामीलाई लाग्छ कि एउटा संवेदनशील विषयमा तिमीहरुको ध्यान तान्नु आवश्यक छ । यो कुनै पब्लिसिटी स्टन्ट होइन न तिमीहरुलाई हैरानी दिने प्रयास नै हो । यो सन्देशलाई उच्च गम्भीरता र गोपनीयताका साथ ह्यान्डल गर्न हामी आग्रह गर्छौं ।’
इमेलमा भएका अरु विवरण भारतीय मिडियाले खुलाएका छैनन्, तर कलाकारसँगै उनीहरुको परिवारलाई पनि सिध्याइदिने धम्की दिइएको समाचारमा जनाइएको छ । विष्णु नाममा हस्ताक्षर गरिएको पत्रमा जवाफका लागि ८ घन्टाको समय दिइएको थियो, तर कसैले पनि इमेलको जवाफ पठाएका छैनन् ।
गत १४ डिसेम्बरमा राजपाल याददवाई विष्णु नाम गरेका व्यक्तिको इमेल आएको थियो । उक्त इमेलमा कपिल शर्माको शो सलमान खानले स्पोन्सर गरेको भन्दै उनीसहित उनको टीमलाई पनि सिध्याइदिने उल्लेख छ । इमेल आएलगत्तै राजपालकी पत्नी राजा राजपाल यादवले मुम्बईको अम्बोली पुलिस स्टेसनमा उजुरी दिएकी थिइन् ।
कपिल, सुगन्धा र डिसुजाको तर्फबाट पनि अलग अलग स्टेसनमा उजुरी दिइएको छ । कपिल र उनको टीमलाई सुरक्षा प्रदान गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अम्बोली पुलिस स्टेसनले आईपी एड्रेस पाकिस्तानको रहेको भन्दै पाकिस्तानी सरकारसँग समन्वय गर्न आफ्नो सरकारर्लाइ अनुरोध गरेको छ ।