वि.सं.२०८३ असार २४ बुधवार

नेकपा एमाले कोशी प्रदेशले अघि सार्‍यो शहरी विकासको अवधारणा

khanepani

विराटनगर । नेकपा एमाले कोशी प्रदेश सहरी विकास विभागले प्रदेशको सहरी विकासका लागि विराटनगरबाट अभियानको सुरुवात गरेको छ । विभागले विराटनगरमा महानगरीय अवधारणा विषयक कार्यशाला गोष्ठी गर्दै अभियान शुरु भएको जनाएको छ ।

‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणका लागि नयाँ सहरहरूको पहिचान, शहरी पूर्वाधारहरूको तीव्र गतिमा विकास, ऐन कानुनको समय सापेक्ष परिवर्तन आवश्यक रहेको विभागका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै इन्जिनियर प्रविन ढकालले बताए ।

हरियाली सडक, अत्याधुनिक बसपार्क निर्माण, भवन रेट्रोफिटिङ तथा पुनर्स्थापना, बहुतले पार्किङ, खुल्ला क्षेत्र, शौचालयहरूको निर्माण सहरी विकासका लागि गर्नुपर्ने कार्य औंल्याइएको छ ।

इन्जिनियर ढकालले फोहोरको समुचित व्यवस्थापन, जलवायु परिवर्तन तथा यसले पारेको प्रभावको अध्ययन, एक शहर, एक न्यूनतम सफा र सुन्दर पोखरी निर्माण अभियान, साना, घरेलु तथा मझौला र ठुला उद्योगहरूको स्थापना गरी रोजगारीको सृजना, व्यवस्थित खानेपानी र सरसफाइको व्यवस्थापन, गाउँको सहरीकरण शहरी विकासका लागि गर्नुपर्ने काम भएको बताए ।

उनले प्रस्तुत गरेको कार्यपत्र अनुसार ठुला, मध्यम तथा साना शहरको श्रृंखला निर्माण गरी बस्ती प्रणाली अपनाउनुपर्ने, विपद् मैत्री मानव विकास, भोलीको सुरक्षित सहरका लागि आजै विपद्को पूर्व अनुमान अनुसारको योजना र नीति, सहरीकरण स्थानीय तहलाई दिनुपर्ने उल्लेख छ ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेशको समृद्धिको खाका नेकपा (एमाले)सँग मात्रै रहेको बताए । उनले प्रदेशलाई समृद्ध बनाउने नेकपा (एमाले) को नेतृत्वमा बनेका प्रदेश सरकारले सुरु गरेका महत्त्वपूर्ण विकासका योजनाहरू अवस्था, सम्पन्न नभएको योजनाहरू चाडै सम्पन्न गर्दै प्रदेशलाई सुविधा सम्पन्न बनाउन प्रदेश सरकार र नेकपा (एमाले) लागिपर्ने बताए । सहरी विकास विभागले प्रदेशका सहरी योजनाहरू निर्माण गर्न महत्त्वपूर्ण नीतिगत सुझावहरू पेश गर्न यस्ता कार्यशालाहरूले सहयोग पुग्ने इन्चार्ज राईको भनाई छ ।

कोशी प्रदेशका १४ वटै जिल्लामा शहरी विकासको अवधारणाबारे गोष्ठी गरिने विभागका प्रमुख लोकेश निरौलाले बताए । व्यवस्थित सहरका लागि शहरी नीति आवश्यक रहेको बताए । आत्मनिर्भरता तर्फ शहरी क्षेत्रलाई उन्मुख गराउने शहरी विभागको ध्येय रहेको प्रमुख निरौलाको भनाई छ । शहरी विकासका चुनौतीहरू धेरै रहे पनि चुनौतीहरूलाई समाधान गर्दै शहरी विकासका लागि विभागले प्रदेशभरि छलफल गोष्ठी गर्ने र संघीय र प्रदेश सरकारलाई शहरी विभागको अवधारणा बुझाइने बताए ।

विभागका सचिव सागर थापाले विराटनगरबाट अभियानको थालनी भएको बताए । विभागले अघि सारेको अवधारणामा आएका सुझावहरूलाई समेटेर संघीय सरकार र कोशी प्रदेश सरकारलाई प्रतिवेदन हस्तान्तरण गरिने सचिव थापाको भनाई छ । विभागले लाई चाडै प्रदेशभर कार्यक्रम गरी विभागको शहरी विकासबारेको अवधारणा तय गर्ने सचिव थापाले बताए ।

कार्यपत्रमाथि एमाले केन्द्रीय सदस्य युवराज बाँस्कोटा, प्याब्सन पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी, योजना विज्ञ तारा निरौला, नन्द न्यौपाने, महेश मिश्र, उमेश कटुवाल, तुलसी पोखरेल , इञ्जिनियर भरत न्यौपाने, राम घिमिरे, मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष नवीन रिजाल, उद्योगी अरुण राठी लगायतले सुझाव दिएका थिए ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्यहरु जीवन घिमिरे, युवराज बाँस्कोटा, रामलाल शाह, प्रदेश कमिटी सचिव राजकुमार भण्डारी तथा महानगर भित्रका प्रदेश सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

ranechhap