वि.सं.२०८१ फागुन ३ शनिवार

रविलाई फेरि प्रहरीको जिम्मा लगाउन अदालतको आदेश, बयान सकिए पनि थुनछेक बहस भएन

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई अदालतले प्रहरीको जिम्मा लगाएको छ ।

बयान सकिएपछि पनि थुनछेक बहस सुरू नभएपछि न्यायाधीश र लामिछानेपक्षका कानून व्यवसायीबीच थुनामा पठाउने कि जिम्मा जमानीका छाड्नेबारे विवाद भएको थियो ।

लामिछानेको तर्फबाट बहस गर्न पुगेका रास्वपाको अनुशासन आयोगका पूर्वउपप्रमुख तथा अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार रविलाई अदालतले प्रहरीको जिम्मा लगाएको छ ।

अदालतले आज भ्याइएन भन्दै प्रहरीको जिम्मा लगाएको र आफूहरु अदालतबाट फर्किएको अधिवक्ता न्यौपानेले बताए ।

‘हामीले थुनामा नपठाउनुस्, कि परिवार कि कानून व्यवसायीको जिम्मामा पठाउनुस् भनेका छौं’ न्यौपानेले भने, ‘उहाँहरूले मान्नुभएन ।’

जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले प्रहरीलाई पत्र लेख्ने काम भइरहेको बताए ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान भएको थियो । सकिएलगत्तै थुनछेक बहस गराउने लामिछानेपक्षका कानून व्यवसायीको मागमा न्यायाधीश अधिकारी मौन रहे ।

आज थुनछेक बहस नभएका कारण लामिछानेलाई जिल्ला प्रहरी परिसरको हिरासतमा पठाउन लागिएको अदालत स्रोतले बतायो ।

Untitled