काठमाडौं । त्रिभुवन विश्वविद्यालयका स्ववियु सचिव सिद्धान्त भट्ट ३५ बुँदे माग राखेर उपकुलपति प्रा.डा. केशरजंग बरालको कार्यकक्ष अगाडि धर्ना बसेका छन् । उनी मंसिर २६ गतेदेखि २४ सै घन्टा धर्नामा बसेका हुन् ।
‘विद्यार्थीहरुको साझा प्रतिनिधिको रुपमा सबै विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा समग्र विश्वविद्यालय सुधारका मागहरु कार्यान्वयनको लागि धर्नामा बसेको छु’, उनले भने ।
उनी नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट स्ववियु सचिवमा निर्वाचित भएका थिए । २५ गते बिहीबार त्रिविको सिनेट बसेको थियो ।
आन्दोलनमा ऐक्यबद्धता जनाउन भीसी कार्यालयमा पुगेका अनेरास्ववियु स्थायी कमिटी सदस्य एवं कानून विभाग प्रमुख गोपाल नेपालले विश्वविद्यालयभित्र विद्यार्थीले भर्ना प्रक्रियादेखि ट्रान्स्क्रिप्ट लिँदासम्म थुप्रै समस्या झेल्दै आएको तीतो यथार्थ रहेको बताए ।
विश्वविद्यालयभित्र झाङ्गिँदै गएको विकृति विसङ्गति र बेतिथि अन्त्य गरी स्वच्छ शैक्षिक प्राज्ञिक वातावरण निर्माण गर्न आउने पुस्तालाई अहिले विद्यार्थीले भोग्दै आएको समस्याबाट छुटकारा दिलाउन यो सत्याग्रह प्रकृतिको आन्दोलनमा विद्यार्थीको साझा प्रतिनिधि स्ववियु सचिव स्वयं होमिनुपरेको नेता नेपालले जानकारी दिए ।
नेपालले धर्ना कार्यक्रमलाई कुनै व्यक्ति विशेष र संगठनको अभियानको रुपमा नहेरी विदार्थी, प्राध्यापक र कर्मचारीलगायत समग्र विश्वविद्यालयको सुधारको आधारको रुपमा लिइ सबैले यो आन्दोलनमा ऐक्यबद्धता जनाउन अनुरोध गरेका छन् ।