वि.सं.२०८१ माघ ११ शुक्रवार

सुपर ओभरमा आफैं बलिङ गर्ने निर्णय सही भइदिएन: सन्दीप लामिछाने

काठमाडौं । हारपछि विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले सुपर ओभरमा बलिङ गर्नका लागि आफूमा आत्मविश्वास रहे पनि निर्णय सही नभएको बताएका छन् ।

पोखरा एभेन्जर्ससँग सुपर ओभरमा पराजित भएपछि सन्दीपले त्यस समय आफै बलिङ गर्नका लागि आत्मविश्वास रहे पनि नतिजा सहज नभएको बताएका हुन् । सन्दीपले राम्रो खेल्दाखेल्दै पनि कहिले कहीँ नतिजा आफ्नो पक्षमा नआउने र आजको दिन पनि आफ्नो नभएको उल्लेख गरे । दुई ओभरमा मात्रै पाँच रन खर्चिएका बसिर डेथ ओभरमा भने सम्हालिन सकेनन् ।

सन्दीप आफ्नो टोलीबाट खेलेका ११ जना खेलाडीले नै उत्कृष्ट रहेको बताए । दोस्रो इनिङमा लक्ष्य पछ्याउन गाह्रो भइरहेकाले आफूले पहिले ब्याटिङ रोजेको उनको भनाइ छ ।

उनले आफ्नो विकेट नआएमा पनि अन्य बलरले विकेट लिएको र कहिलेकाहिँ राम्रो गर्दा पनि विकेट नआउने भन्दै आफ्नो पनि बचाउ गरे । सन्दीपले पावर प्लेमा राम्रो गर्न नसकेको र विकेट निकाल्न सकेको भए खेलको अवस्था फरक हुने बताएका छन् ।

पोखराका बलर विपिन खत्रीले सुपर ओभरमा जानुपर्ने लक्ष्य नभए पनि राम्रो ब्याटिङ हुन नसकेको बताएका छन् । तर रेमोन रेइफोर्टले अन्तिम ओभरसँगै सुपर ओभरमा पनि अलराउण्ड प्रदर्शन गरेपछि जित निस्किएको उल्लेख गरे । रेइफोर्टले आफू टेस्ट नेसन्सको खेलाडी हुँ भन्ने अनुभव खेलबाट देखाएको विपिन बताउँछन् ।