काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह बिहीबार बन्चरेडाँडा ल्यान्डफिल साइट अनुगमन गर्न पुगेका छन् । बन्चरेडाँडा पुगेका मन्त्री सिंहले सो क्षेत्रमा देखिएका समस्याबारे जानकारी लिएका छन् ।
काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन हुने गरेको ल्यान्डफिल साइट नुवाकोट र धादिङको सिमाना बन्चरेडाँडामा छ । मन्त्री सिंहले फोहोरमैला व्यवस्थापनमा बन्चरेडाँडामा देखिएको समस्याबारे धेरै छलफल भएको भन्दै अब समाधानमा केन्द्रित हुनुपर्ने बताए ।
‘फोहोरको बारेमा धेरै प्रश्न उठेको छ । यहाँको व्यवस्थापन कसरी भइरेहेको छ भन्नेबारे छलफल भएको हो । उहाँले
मापदण्डअनुसार फोहोरको व्यवस्थापन भइरहेको छ कि छैन भन्नेबारे जानकारी लिएका हुन्,’ सिंहको सचिवालयले भन्यो । अनुगमनका क्रममा मन्त्री सिंहले ल्यान्डफिल साइटको आयुबारे चासो राखेका थिए ।
सहरी विकास मन्त्रालयका अधिकारीहरूका अनुसार वर्गीकरण नगरी फोहोर फाल्ने हो भने बन्चरेडाँडा ल्यान्डफिल साइट २० वर्षमै भरिन सक्छ । तर फोहोर वर्गीकरण गरेर मात्रै फाल्ने हो भने ल्यान्डफिल साइटको आयु ४० वर्षसम्म बनाउन सकिन्छ ।
फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको प्रमुख रहेका मन्त्री सिंहको अध्यक्षतामा गत ९ मंसिरमा मन्त्री सिंह नेतृत्वमा रहेको उच्चस्तरीय समितिको पहिलो बैठक बसेको थियो ।