काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन् ।
शुक्रबार बागमती प्रदेश कराँते च्याम्पियनसिप २०२१ कार्यक्रमलाई सम्बोधन गर्दै सरकारको नेतृत्व गर्नेहरुबाटै देशलाई बन्धकी राख्ने तथा राष्ट्रिय हित विपरीतका गतिविधि भइरहेको बताएका हुन् । उनले नाम भने कसैको लिएनन् ।
देशलाई बन्धकी राख्ने, राष्ट्रिय हितका विपरीतका गतिविधि गर्ने काममा स्वयं सरकारका नेतृत्व गर्ने प्रमुखहरु नै लागेका खबरहरुले नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा, उनीहरुको आत्मसम्मान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्नचिह्न खडा गर्ने दुस्साहस भएको छ’ प्रचण्डले भने, ‘तर सचेत नेपाली जनता, स्वस्थ नेपाली जनता, वलिष्ठ नेपाली जनतालाई यी सबै षड्यन्त्र स्वीकार्य छैन ।
अध्यक्ष प्रचण्डले केही मानिसले संघीयतालाई खारेज गर्ने र स्थानीय तहलाई दिएको अधिकार खोस्ने सपना देखेको पनि बताए ।
अहिले पनि केही मानिसहरुले त्यस्तो सपना देख्छन् । संघीयतालाई खारेज गर्ने, स्थानीय तहमा गएको अधिकारलाई खोसेर फेरि केन्द्रका केही सीमित व्यक्तिहरुको हातमा केन्द्रित गर्ने, समावेशिता र समानुपातिकतालाई उल्ट्याउन खोज्ने प्रवृत्ति देखा परेको छ’ उनले बताए ।
तर परिवर्तनलाई उल्ट्याउनेकुरा नेपाली जनतालाई मान्य नहुने उनको भनाइ छ ।









































