रुपन्देही । कतार एयरवेजले पनि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थाल्ने भएको छ। उसले मङ्गलवारबाट उठान थाल्ने भएको हो । यस अघि उक्त वायुसेवाले कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ ।
मङ्गलवारबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ । यो सँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनी ५ वटा पुगेका छन्। यसअघि नेपाल एयरलाइन्स, जजिरा, फ्लाइ दुबई र थाइएयर एशियाले उडान थालिसकेका छन्।
नोभेम्बर १२ देखि ३० सम्म १९ वटा उडान गर्ने गरी अनुमति प्रदान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। कतार एयरवेजले हप्तामा सातै दिन दोहा–भैरहवा–काठमाडौं उडान गर्ने प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए।
कतार एयरवेजको जहाज दिउसो २ः ४५ मा भैरहवा आउने छ । ४ः ४५ बजे काठमाडौंको लागि प्रस्थान गर्नेछ। कठमाडौंबाट साँझ ६ः५५ बजे दोहा प्रस्थान गर्नेछ।
दुबईको फ्लाई दुबई, नेपाल एयरलाइन्स, कुवेतको जजिरा एयरवेज र थाईल्याण्डको थाई एयरएसिया ले भैरहवाबाट उडान थालिसकेका छन् । जजिराले सातामा तीन दिन मङ्गलवार, बिहीबार र शनिवार भैरहवा–कुवेत उडान गरिरहेको छ ।
यहाँबाट फ्लाई दुवईले दैनिक उडान गरिरहेको छ । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिका अनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुवईको जहाज भैरहवा अवतरण गर्नेछ भने पौने ३ बजे यहाँबाट उडान भर्नेछ ।
नेपाल एयरलायन्सले शनिवार साँझबाट काठमाडौं–भैरहवा–दुवई उडान सुरु गरिरहेको छ । नेपाल एयरलायन्सले सातामा चार दिन आइतबार, सोमबार, बुधवार र शुक्रवार उडान गर्ने तय भएको छ । थाई एयर एसिया प्रत्येक साताको सोमबार र बिहीबार उडान गर्ने तय भएको छ ।
२०७९ जेठ २ गते उद्घाटन भएको यो विमानस्थल लामो समय पूर्ण रूपमा सञ्चालन नभएको भन्दै अर्बौँ लगानी गरेको निजी क्षेत्रले असन्तुष्टि जनाइरहेको थियो भने सञ्चालनका लागि विभिन्न चरणका आन्दोलन गरिरहेको थियो ।









































