वि.सं.२०८१ माघ ६ आइतवार

रुकुमपूर्वमा माओवादी किल्ला तोड्न एमाले-कांग्रेस गठबन्धन गर्दै, माओवादीले विप्लव र एसको साथ लिने

रुपन्देही । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष तथा वडा नं २ को अध्यक्षमा हुन लागेको उपनिर्वाचनमा एमालेकांग्रेसले गठबन्धनको अन्तिम तयारी गरेका छन् ।

माओवादीको बलियो आधार क्षेत्र मानिएको यो क्षेत्रमा सत्तारुढ दुई ठूला दलले गठबन्धन गरेर उसले जितेका क्षेत्र आफ्नो पक्षमा पार्न खोजेका छन् ।

यस अघि माओवादीबाटै निर्वाचन जितेका पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बूढा र वडा नं २ का अध्यक्ष जसबहादुर सिर्पालीको भदौ २८ गते काठमाडौंबाट घर फर्कँदै गरेको गाडी बाग्लुङमा दुर्घटनामा परेर मृत्यु भएको थियो ।

आगामी मङ्सिर १६ गते देशभरका स्थानीय तहका रिक्त पदका उपनिर्वाचन हुँदैछ ।

एमाले कांग्रेसले गठबन्धन गरेर जाने सूचना पाएपछि माओवादीले पनि विप्लव नेतृत्वको नेकपा माओवादी, नेकपा एसलाई साथ लिएर यस अघि जितेको ठाउँमा पुनः जित्ने गरी योजना बनाएको छ ।

उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्ने भए पनि अहिले दलहरू तिहारका कारण आफ्नो उम्मेदवार र गठबन्धनका विषयमा टुंगो लाग्न नसकेको जनाएका छन् । नेकपा एमाले रुकुम पूर्वका अध्यक्ष लीलामणि गौतम पुथा उत्तरगंगाको उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेससँग गठबन्धन गरेर जाने विषयमा अन्तिम तयारी भए पनि कुनै टुंगो नलागेको बताउँछन् ।

‘उपाध्यक्ष एमालेले पाउने गरी वडाध्यक्ष कांग्रेसलाई दिने गरी अनौपचारिक छलफल गरेका छौँ, तिहारका कारण अन्तिम टुंगो लागेको छैन, एमाले कांग्रेस गठबन्धन भए माओवादीले जित्न सक्दैनन्, उसले दाबी गरेको बलियो क्षेत्र अहिले छैन, एमालेले ठूलो सांगठनिक संरचना बनाइसकेको छ, एक दुई दिनमा बसेर टुंगो लगाउँछौँ’ उनले भने ।

नेकपा माओवादी केन्द्रका लुम्बिनी अध्यक्ष सुदर्शन बरालले एमाले कांग्रेस गठबन्धन गरेर आफूहरूले जितेको ठाउँ लिने योजना बनाएको सुनेपछि विप्लव नेतृत्वको नेकपा माओवादी, नेकपा एस र जसपासँग सहकार्य गरेर जाने रणनीति बनाएको बताए ।

‘हाम्रो आधार इलाका हो रुकुम पूर्व, उपाध्यक्ष र वडाध्यक्ष माओवादीबाट जितेर जानुभएको थियो, दुर्घटनामा बित्नुभयो, अब हामीले त्यो जितलाई कायम राख्ने गरी रणनीति बनाएका छौँ, उम्मेदवारको टुंगो लागेको छैन, दुई दिनभित्रै टुंगो लाग्छ’ उनले भने–’विप्लव नेतृत्वको माओवादी र नेकपा एसका मत थपिँदा हामी नै जित्छौँ ।’

नेपाली कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुनले गत निर्वाचनमा थोरै मतले पराजित भएको क्षेत्रमा अहिले एमालेकांग्रेसको सहकार्य गरेर सजिलै जित्न सकिने भएकाले सोही अनुसारको तयारी गरेको बताए ।

‘अघिल्लो निर्वाचनमा नै माओवादीले थोरै मतले जितेको हो, अहिले उसले जित्न सक्दैन, सकेसम्म गठबन्धन गरेरै जाने विषयमा छलफल भएको हो, टुंगो लागेको छैन’ उनले भने ।

लुम्बिनी प्रदेशको एक मात्रै हिमाली जिल्ला रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गाविसहरु समावेश भएका छन्।

गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ भने । पूर्वमा बागलुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरू रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं १० तकसेरामा रहेको छ।

अहिले हुने स्थानीय तहको उपनिर्वाचनमा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र वडा नं २ को अध्यक्ष, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ को अध्यक्ष, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ को अध्यक्ष, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ को अध्यक्ष, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ को अध्यक्षका लागि निर्वाचन हुँदैछ ।

यी ६ ठाउँमध्ये रुकुमपूर्वको उपाध्यक्ष र वडाध्यक्षमा माओवादीको तर्फबाट जितेका उम्मेदवार थिए भने अन्य ४ स्थानमा कांग्रेसबाट जितेका उम्मेदवार थिए ।

एमाले लुम्बिनी अध्यक्ष राधाकृष्ण कंडेलले ६ स्थानमा हुने उपनिर्वाचनमा एमालेले कम्तीमा ३ स्थानमा जित्ने गरी योजना बनाएका बताए ।

‘यस अघिको निर्वाचनमा ६ वटै स्थानमा हामीले जितेका थिएनौँ तर अहिले कम्तीमा ३ स्थानमा जित्ने गरी अगाडि बढेका छौँ, अब उम्मेदवारको टुंगो जिल्लाले पठाएपछि फाइनल हुन्छ’ उनले भने ।