वि.सं.२०८२ जेठ १ बिहीवार

दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलका लागि एन्फाले किन रोक्यो टिकट विक्री ?

काठमाडौं । बुधवार दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलका लागि टिकट विक्री रोकिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नहुँदासम्म टिकट विक्री नगर्न र टिकट खरिद नगर्न आग्रह गरेको छ।

बुधवार साँझ बंगलादेश र नेपाल उपाधिका लागि भिड्दैछन्। सेमिफाइनलमा भारत र नेपालबीच भएको खेलमा रंगशालाको क्षमता भन्दा बढी टिकट विक्री भएको पाइएकाले हाललाई रोकिएको एन्फा प्रवक्ता सुरेश शाहले बताए।

शाहका अनुसार उक्त खेलमा करिब १९ हजार दर्शकले रंगशालाबाट खेल हेरेका थिए। ‘जबकि हाम्रो रंगशालाको क्षमता भनेकै १५ हजार हो। दुई हजार भन्दा बढी दर्शक टिकट लिएर पनि रंगशाला प्रवेश गर्न नपाएको रिपोर्ट आएको छ’, प्रवक्ता शाहले भने।

एन्फाले यो प्रतियोगिताको टिकट विक्रीको ठेक्का माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालीलाई दिएको थियो।

‘हामीले साधारणतर्फ ११ हजार र भिआईपीतर्फ १२ सय मात्र टिकट विक्री गर्न भनेका थियौँ’, शाहले भने। साधारण प्यारापिटतर्फ १२ हजार र भीआईपी प्यारापिटतर्फ २७ सय दर्शक अट्ने क्षमता छ।

‘टिकट विक्रीको जिम्मा पाएको कम्पनीसँग सत्यतथ्य बुझ्ने काम हुँदै छ। व्यवस्थित गरेर मात्र टिकट विक्री खुला गरिने छ’, शाहले भने।