काठमाडौं । नेपाली कांग्रेसको कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउन बाहेकका अरु विकल्प खोज्न सरकारलाई आग्रह गरेको छ ।
कांग्रेसको (कोभिड १९) अनुगमन समितिले मंगलबार विज्ञप्ति जारी गरी देशले लकडाउन धान्न नसक्ने भन्दै महामारी नियन्त्रणका लागि अरु उपाय अवलम्बन गर्न आग्रह गरेको छ ।
यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ’ अनुगमन समितिका संयोजक डा. प्रकाश शरण महतले भनेका छन्,‘कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्न समेत माग गर्दछौं ।
सरकार उदासीन भएका कारण अहिले फेरि (कोभिड—१९) को संक्रमण फैलन थालेको भन्दै कांषग्रेसले भविष्यमा अझ भयावह अवस्था आउने भएकाले बेलैमा सचेत हुन सरकारलाई आग्रह गरेको छ ।
कांग्रेसले गम्भीर विरामीहरु बढ्न सक्ने हुनाले आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति गर्न, अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सीमा नाकाबाट आउनेहरुलाई व्यवस्थित चेक जाँच र क्वारेन्टिनको व्यवस्था सुनिश्चित गर्न माग गरेको छ ।
त्यस्तै कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई पीसीआर परीक्षण दायरा व्यापक बनाउन, आम नागरिकमा खोप पुर्याउने कार्ययोजना बनाउन, स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन र अस्पतालमा स्वास्थ्यकर्मीको संख्या कम हुन नदिन पनि कांग्रेसले आग्रह गरेको छ ।
सरकारले पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राखेको भन्दै कांग्रेसले तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न पनि आग्रह गरेको छ ।









































