वि.सं.२०८३ वैशाख १८ शुक्रवार

एक हप्ताभित्र खुलामञ्चबाट बसपार्क हट्ने

khanepani

काठमाडौं । एक हप्ताभित्रै खुलामञ्चबाट बसपार्क सर्ने भएको छ । लामो समयसम्म खुलामञ्च अतिक्रमण गरेर बसपार्क राखेको भन्दै आलोचना भएपछि काठमाडौं महानगरपालिकाले पार्किङ सार्न लागेको हो ।

खुलामञ्च खाली गर्न महानगरपालिकाले शहरभित्र चल्ने बसहरुलाई रत्नपार्कमा ‘पिक एन्ड ड्रप’ प्रणालीमा फन्को मार्न दिने तयारी गरेको छ । पुरानो बसपार्कबाट छुट्ने लामो दूरीका बसहरु भने नयाँ बसपार्क, काटेश्वर वा सो भन्दाबाहिरबाट छुटाउने तयारी छ ।

हामीले अरनिको यातायातसहित सम्बद्ध कम्पनीलाई खुलामञ्चबाट उपयुक्त स्थानमा बसपार्क लैजान भनिसकेका छौं, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, ‘एक हप्ताभित्रै खुलामञ्च सार्वजनिक कार्यक्रम गर्ने मञ्चका रुपमा पुनर्स्थापित गर्छौं । उनका अनुसार खुलामञ्चमा वीर अस्पतालको भवन निर्माणका क्रममा ठेकदारले बनाएको संरचना पनि हटाइनेछ ।

अहिले काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, खोटाङ, ओखलढुंगा लगायतका क्षेत्रमा जाने बसहरु खुलामञ्चको बसपार्कबाट छुट्छन् । यी बसहरु अन्य स्थानको बसपार्कबाटै छुटाउने योजना महानगरको छ ।

बसपार्क सार्न विकल्प खोजिरहेको महानगरपालिकाले पुरानो बसपार्कमा बन्दै गरेको २९ तले ‘काठमाडौं भ्युटावर’ को बस टर्मिनल तयार गराएर बसपार्क फिर्ता गर्न भने ध्यान दिएको छैन ।

खुलामञ्चमा अस्तव्यस्त बसपार्क चलाउँदा महानगरपालिकाले सार्वजनिक क्षेत्रको संरक्षण र सरसफाइमा उदासीन बनेको आरोप खेपिरहेको छ । सम्पदाप्रेमी र वातावरणविद्हरु खुलामञ्चमा गरिएको ढलान हटाएर घाँसे मैदान बनाउन माग गरिरहेका छन् ।

यहीबेला ‘काठमाडौं भ्युटावर’मा चौंथो तलाको काम हुँदैछ । काम सुरु गराउँदा महानगरले टावरको तीन तला ९बेसमेन्ट०को काम सक्नासाथ बस टर्मिनल बनाएर खुलामञ्चको बसपार्क सार्ने भनेको थियो । उसले यही टावर बनाउन बसपार्कलाई खुलामञ्चमा सारेको थियो ।

अहिले भने महानगर र निर्माण कम्पनी जलेश्वर–स्वच्छन्द बिकोइ दुबै टावर तयार भएपछि मात्र बसपार्क सार्न सकिने बताइरहेका छन् । २०७२ साल कात्तिक २५ देखि निर्माण सुरु भएको टावर ३ वर्षभित्रै बनिसक्नुपर्ने थियो, तर बल्लबल्ल चौथो तला पुगेको छ । टावर समयमै नबनाउने अनि वर्षौंसम्म खुलामञ्चमै बसपार्क राख्ने अवस्था देखिएको छ ।

महानगरपालिकाले जलेश्वर–स्वच्छन्द बिकोइलाई निर्माण, सञ्चालन र हस्तान्तरण बुट मोडलमा टावर निर्माणको जिम्मा दिएको थियो । पुरानो बसपार्कको खुला ठाउँलाई ३० वर्षे सम्झौता गरेर टावर बनाउन जिम्मा लगाएको महानगरपालिका काममा ढिलाइ हुँदा पनि कडा रुपमा प्रस्तुत भएको छैन ।

ranechhap