काठमाडौं । सरकारले सिफारिस गरेका १७ जना राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट बहुमतले अनुमोदन भएकोमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फरक मत राखेका छन् ।
१७ मुलुकका लागि १७ जना राजदूत सरकारबाट सिफारिस भएकोमा जसपा र स्वपाले दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ, मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमल्सिना, इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित र भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माको नाममा फरकमत राखेको हो ।
जसमा जसपाका सांसद प्रकाश अधिकारीले शंकर शर्मा र कपिलमान श्रेष्ठलाई अनुमोदन नगर्नुपर्ने भन्दै जसपाले फरक मत राखेका हुन् भने रास्वपाका सांसद डोलप्रसाद अर्यालले कपिलमान श्रेष्ठ, प्रा.धनप्रसाद पण्डित र डा.नेत्रप्रसाद तिमल्सिनालाई अनुमोदन गर्न नहुने भन्दै फरक मत राखेको हो ।
श्रीलंकाका लागि प्रस्तावित रामकृष्ण भट्टराईको स्नातक तहको प्रमाणपत्र नभेटिएपछि अर्को बैठकबाट मात्रै निर्णय गरिने समितिका सभापति इश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।











































