14, Dec, 2024

नेकपा एसमा सर्वसम्मतको प्रयास असफल : पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न चुनावी प्रक्रिया सुरू

बागमती भ्वाइस
बागमती भ्वाइस
१० भाद्र २०८१, सोमबार १६:१६ | ३ महिना अगाडी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयन अन्तत: चुनावबाटै हुने भएको छ । सर्वसम्मत गराउने प्रयास असफल भएपछि जारी केन्द्रीय कमिटी बैठकमा मतदानको प्रक्रिया अघि बढेको हो । नेताहरूले मतदान प्रक्रियाबाट पदाधिकारी टुंगो लगाउन दबाब बढाएका थिए ।

केन्द्रीय कमिटीमा मतदानबाट पदाधिकारी टुंगो लगाउने कुरामा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको विरोध थियो । पदाधिकारीमा आकांक्षी बढी हुँदा सहमतिमा टुंग्याउन अध्यक्ष नेपाललाई पनि सकस परेको थियो । अन्तत: उनी पनि मतदानमा जान तयार भएका हुन् ।

१८ पदाधिकारीसहित पोलिटब्युरो सदस्यका लागि निर्वाचनको तयारी थालिएको हो । केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने छन् । आवश्यक परे वरिष्ठ नेता पद पनि सिर्जना गर्नसक्ने निर्णय यसअघि नै गरेको छ । पोलिटब्युरो सदस्यको संख्या केही समयमा तय गरेपछि मनोनयन सुरू हुने निर्वाचन आयोगका सदस्य खेम पौडेलले बताए ।

‘अहिले कार्यविधि बन्दैछ । मंगलबार बिहानैबाट मतदान गर्ने गरी तयारी गर्दैछौं’, पौडेलले नेपाल प्रेससँग भने ।

सहमतिका नाममा राम्रालाई भन्दा पनि हाम्रालाई बोक्ने प्रवृत्ति बढ्नसक्नेप्रति सचेत गराउँदै केन्द्रीय सदस्यहरूले मतदानमै जान दबाब दिएका थिए । महाधिवेशनभरि मिलेका अध्यक्ष नेपाल र नेता खनाल पदाधिकारी चयन प्रक्रियाको विषयमा विभाजित भएका छन् । पदाधिकारी सर्वसम्मतको मागमा नेता खनाल र महासचिव भुसाल एकैठाउँमा उभिएका थिए ।

पार्टीमा वरिष्ठ उपाध्यक्षसमेत छान्न सकस परिरहेको छ । यो पदका लागि राजेन्द्र पाण्डे र वेदुराम भुसालबीच महाधिवेशनकै समयदेखि रस्साकस्सी चल्दै आएको छ । आफू सर्वसम्मत वरिष्ठ उपाध्यक्ष नपाउने परिस्थिति बने नेता पाण्डे चुनावको पक्षमा छन् ।

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेलाई रोक्न झलनाथ खनालले प्रमेश हमाल अघि बढाएको आरोप छ । यसअघि वरिष्ठ उपाध्यक्षमा प्रमुख दाबेदार रहेका वेदुराम भुसाल पछि हटेका छन् ।

पाण्डेले आफू वरिष्ठ उपाध्यक्षबाट पछि नहट्ने भन्दै केन्द्रीय कमिटीमा चुनाव गराइदिन अध्यक्ष माधव नेपाललाई आग्रह गरेका छन् ।

घनेन्द्र बस्नेत, धर्मनाथप्रसाद साह, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, प्रकाश ज्वाला, गंगालाल तुलाधर, प्रमेश हमाल, जयन्ती राई, बलराम बास्कोटा, हरि पराजुलीसहितका नेताले उपाध्यक्षमा दाबी गरेका छन् ।

७ सचिवका लागि दर्जनबढी आकांक्षी देखिएका छन् । शेरबहादुर कुँवर, हस्त शाही, मेटमणि चौधरी, सुदेश पराजुली, नरेश शाही, अम्बरबहादुर थापा, चन्द्रबहादुर शाही, सोम पाण्डे, दिलकुमारी पन्त, श्रीप्रसाद साह, सुधीर साह, सावित्रा भुसाल, कल्याणी खड्का, रामकुमार भट्टराई, बलदेव चौधरी, राजन राई, केशव विष्टलगायतका नेता सचिवमा दाबी गरिरहेका छन् ।

१० भाद्र २०८१, सोमबार १६:१६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading