काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वस्वास्थमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा सञ्चालनमा रहेको ढुंगाखानी सबै अवैध रहेको भन्दै कसैले सञ्चालन गर्न खोजे त्यसको ‘लाइफ ड्यामेज’ बनाइदिने चेतावनी दिएका छन् ।
जिल्ला समन्वय समितिको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै बस्नेतले जुगल गाउँपालिकालगायत विभिन्न ठाउँमा अहिले पनि अवैध ढुंगा खानी रहेको दाबी गरे । त्यसले गर्दा विपत्तिका घटना भएकोले कुनै पनि निकायले अबदेखि यस्ता खानी सञ्चालन गरे लाइफ ड्यामेज बनाइदिने चेतावनी दिएका हुन् ।
उनले प्रहरी प्रशासन, जनप्रतिनिधि र कर्मचारीले ढुंगाखानी सञ्चालनमा सहयोग गरे सबैको लाइफ ड्यामेज हुने गरेर आफू अगाडि बढ्ने बताए ।
केही समय अगाडि जुगल गाउँपालिकाबाट २२ ट्रिप अवैध ढुंगा आउँदा सिन्धुपाल्चोक प्रहरीले मिलेमतोमा छाडेको र आफूले काभ्रे प्रहरीलाई भनेर नियन्त्रणमा लिन लगाएको बस्नेतको भनाइ छ ।
ढुंगा खानी सञ्चालन गर्न दिन केही जनप्रतिनिधि र नेताहरू समेत लागेको उनको आरोप थियो । ढुंगा खानीबारे खरो बोलेका बस्नेत सिन्धुपाल्चोकका अवैध क्रसरबारे भने मौन देखिए ।
आफू स्वास्थ्यमन्त्री हुँदा पहिलो पटक ३९ वटा स्वास्थय चौकी बनाउनका लागि बजेट निकासा गरेको उनले सुनए ।
‘अर्थमन्त्रालयले बजेट सील गरिसकेको थियो तर मैले हंगामा गरेर त्यति धेरै बजेट पठाउन सफल भएँ’, बस्नेतले भने ।
सिन्धुपाल्चोकमा आफूबाहेक अरु कुनै पनि जनप्रतिनिधिले ठूलो आकारको बजेट ल्याउन नसकेको उनले दाबी गरे ।
‘मेरो जति बजेट ल्याउने ल्याकत कसैको देखिएन, म २ नम्बरको मात्रै होइन जिल्लाभरको सांसद हुँ, मेरो जतिको बजेट ल्याउने हुती भए ल्याएर देखाउनुस् ।’