08, Sep, 2024

बंगलादेशमा अल्पसंख्यक समुदायप्रति भइरहेका चरम दमनको विरोधमा आवाज उठाउन माग

बागमती भ्वाइस
बागमती भ्वाइस
२४ श्रावण २०८१, बिहीबार १२:०४ | १ महिना अगाडी

रुपन्देही । अन्तरधार्मिक सद्भाव संघ नेपालले बङ्गलादेशमा चलेको आन्दोलनको क्रममा अल्पसङ्ख्यक हिन्दु समुदायमाथि हुन लागेको दमन र सम्भावित विस्थापनप्रति गम्भीर ध्यान दिँदै उनीहरुको न्यायका लागि आवाज उठाउन आग्रह गरेको छ ।

संघका महासचिव सुरज थापा मगरले विश्वमा भइरहेका घटनाक्रमहरुबाट नेपाल निरपेक्ष रहन नसक्ने र त्यसको प्रभाव कुनै न कुनै रुपमा नेपालमा पनि पर्ने भएकाले बङ्गलादेशमा चलिरहेको शेख हसिना सरकारविरुद्धको आन्दोलनमा अल्पसंख्यक समुदायप्रति भइरहेका चरम दमनको निन्दा गर्दै विश्व समुदायबाट यसलाई रोक्न आवाज उठाउनुपर्ने जनाएका छन् ।

उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘केही सङ्केत र लक्षणहरुले अहिले बङ्गलादेशमा रहेका हिन्दु अल्पसङ्ख्यक समुदायमाथिको दमन र विस्थापनको खतरा बढिरहेको सुनिदैछ । त्यसर्थ हामीले त्यहाँ रहेका ८.५ प्रतिशत हिन्दु समुदाय र अन्य अल्पसङ्ख्यक धार्मिक समुदाय साम्प्रदायिक हिंसाको चपेटामा परेर विस्थापन हुन नपरोस् भन्दै जोडदार आवाज उठाउन चाहन्छौं । त्यसरी नै याङ्गुनबाट लखेटिएर बङ्गलादेशमा शरणार्थीको रुपमा जीवन बिताइरहेका रोहिङ्ज्या मुसलमानहरुलाई पनि स९सम्मान स्वदेश फिर्ता पठाउने वातावरण तयार गर्न पनि हार्दिक अपिल गर्छौँ ।’

संघले सबै अल्पसङ्ख्यक धार्मिक समुदायको अधिकारको पक्षमा पैरवी गर्ने, आपसी सद्भाव अभिवृद्धि गर्ने र शान्ति स्थिरताको लागि जनचेतनाका साथ दबाब दिने र सबै सनातन धर्महरुको सार्वभौम अधिकारको पक्षमा पैरवी गर्दै आएको छ ।

समाजमा धार्मिक हिंसा हुन नदिन अन्तरधार्मिक सदभाव कायम गर्न, राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउन, सबै परम्परागत संस्कृतिहरुको रक्षा गर्दै लोकतन्त्रको जीवन जरा सुदृढ बनाउन सबैको अपनत्व स्वीकार गर्नुपर्ने जनाउँदै संघले स्वय बहुसङ्ख्यक हिन्दु समुदायका धार्मिक गुरुहरु ‘राज्य सबको साझा हो’ भन्दै सर्वधर्म समभावको उदात्त संस्कृतिको प्रचार गर्दै सहकार्य र सहिष्णुताको वातावरण बलियो बनाउँदै विश्वलाई असंलग्न परराष्ट्र नीति र पन्चशील सिद्धान्तका आधारमा हेर्ने वातावरण तयार गर्नुपर्ने जनाएको छ ।

संघले मध्यपूर्वमा चलिरहेको इजरायल र प्यालेष्टाइन बीचको हिंस्रक लडाईं वार्ताको माध्यमबाट रोक्न र शान्ति स्थापना गर्न लागि जोडदार माग गरेको छ ।

२४ श्रावण २०८१, बिहीबार १२:०४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading