वि.सं.२०८३ भदौ २ मंगलवार

भारतले किन ढिलो गर्‍यो बाँकी खोप दिन ?

khanepani

काठमाडौं । आन्तरिक माग बढेको कारण देखाउँदै सम्झौता भइसकेको १० लाख खोप नेपाललाई उपलब्ध गराउन भारतले ढिलाइ गरेको छ ।

यस अगाडि भारतले अप्रिलको पहिलो साताभित्र खोप उपलब्ध गराउने आश्वासन दिएको थियो । तर, कोरोना संक्रमितको संख्या ह्वात्तै भएको कारण देखाउँदै आन्तरिक माग पूरा गर्ने आफूहरुको प्राथमिकता रहेको भारतले जानकारी दिएको छ ।

सरकारी अधिकारीहरुका अनुसार भारतले आफूले खोप निर्यातमा कुनै पनि खालको प्रतिबन्ध नलगाएको तर प्राथमिकता आन्तरिक माग रहेको जानकारी गराएको छ । गत शुक्रबार भारतीय विदेश मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्छीले भारतको खोपको प्राथमिकता बारेको नीति अन्य मुलुकलाई औपचारिक च्यानलमार्फत जानकारी दिएको छ ।

एक उच्च सरकारी अधिकारीले नेपालले पैसा तिरिसकेको १० लाख खोप उच्च प्राथमिकतामा रहेको जानकारी भारतीय पक्षबाट आएको बताए । यद्यपि भारतले खोप उपलब्ध गराउन केही ढिलो भने हुने उनले बताए । ती अधिकारीले अनलाइनखबरसँग भने, ‘भारतले आन्तरिक मागलाई प्रमुख कारण भनेको छ तर अन्य कारण पनि हुनसक्छन्, अप्रिलको अन्तिम सातासम्म उपलब्ध गराउने आश्वासन पाएका छौं ।

अधिकारीहरुका अनुसार आन्तरिक माग जति नै भए पनि भारतले चाहने हो भने १० लाख खोप उपलब्ध गराउन कुनै पनि खालको कठिनाइ छैन । आन्तरिक मागलाई प्राथमिकता दिएको भनिए पनि भारतले विभिन्न मुलुकलाई अनुदानमा खोप उपलब्ध गराउँदै आएको छ ।

१० लाख खोप उपलब्ध गराउन स्वास्थ्य र परराष्ट्र मन्त्रालयले नियमित रुपमा फलोअप गरिरहेका छन् । केही दिन अगाडि स्वास्थ्यमन्त्री हृयदेश त्रिपाठीले भारतीय अधिकारीहरुसँग कुराकानी गरेका थिए ।

१० लाख डोज अनुदानमा प्राप्त भए पनि नेपालले भारतबाटै ५० लाख खोप खरिद गर्ने योजना बनाएको छ । यस सम्बन्धमा सरकारका विभिन्न च्यानलले भारतीय पक्षसँग कुराकानी पनि गरिरहेका छन् । प्रतिखोपका लागि ५ डलरसम्म तिर्न पनि नेपाल तयार भएको छ । भारत सो सम्झौता गर्न तयारसमेत भएको छ ।

तर सम्झौता भएपछि खोप उपलब्ध गराउने टाइमलाइन यकिन हुनुपर्ने सर्त रहेको स्थास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ती अधिकारीले भने, हामीले पैसा तिर्ने तर अहिलेजस्तो ढिलो हुने हो कि भन्ने भय छ ।

भारतले विश्वका ७७ भन्दा बढी मुलुकहरुलाई खोप उपलब्ध गराइसकेको छ । भारतबाट खोप प्राप्त हुने प्रक्रियामा ढिलाइ हुँदा अन्य मुलुकहरुबाट खोप किन्ने प्रक्रिया समेत अगाडि बढ्न सकेको छैन । एक सरकारी अधिकारी भन्छन्, ‘खोप खरिदमा पनि भूराजनीतिक प्रतिस्पर्धाको असर गर्ने जस्तो देखिने अवस्था सिर्जना हुँदैछ ।

नेपाललाई छिमेकी मुलुक चीनले कोरोनाविरुद्धको भेरोसेल खोप आठ लाख डोज अनुदानमा उपलब्ध गराएको छ ।

ranechhap