काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले पार्टीभित्र गम्भीर समीक्षा गर्न आवश्यक रहेको बताएका छन् ।
पेरिसडाँडामा माओवादी केन्द्र हुम्लाको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै अघि शान्ति प्रक्रियामा आइसकेपछि माओवादीमा समस्या आएको बताए ।
उनले भने, ‘अध्यक्ष पनि यही हुनुहुन्छ, हाम्रो पार्टीमा यतिखेर गम्भीर समीक्षाको जरुरी छ । समीक्षा गरौँ । हिजो हाम्रो आह्वानमा लडेका भिडेका तमाम कार्यकर्ताहरू आज कहाँ छन् ? कता के गर्दैछन् ? यसको खोजी गरौँ। हामीले कहाँनेर हो कार्यकर्ताको संरक्षण गर्न नसकेको छ। धेरै युवाहरू अहिले खाडी मुलुकमा छन् ।’
जिम्मेवारीमा बसेका नेताहरूले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेकै कारणले पार्टीमा कार्यकर्ता नभएर कमजोर हुँदै गएको बताए । उनले प्रचण्डको नेतृत्वमा माओवादीलाई नयाँ ढंगले लैजानुको विकल्प नभएको बताए । पार्टी फुटाएर हिँड्नेहरूले भोगिसकेकाले माओवादी नफुट्ने जिकिर गरे ।






































