08, Sep, 2024

बंगलादेशकी विपक्षी दलकी नेता बेगमलाई छाड्न राष्ट्रपतिको आदेश

बागमती भ्वाइस
बागमती भ्वाइस
२२ श्रावण २०८१, मंगलवार १३:५८ | १ महिना अगाडी

एजेन्सी । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जेल सजाय भोगिरहेकी पूर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेता बेगम खालिदा जियालाई छाड्न आदेश दिएका छन्।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि बंगलादेशमा अन्तरिम सरकार बनाउने तयारी चलिरहेको छ। सरकार बनाउने तयारी भइरहँदा राष्ट्रपति शाहबुद्दिनले बंगलादेश नेसनलिस्ट पार्टीकी अध्यक्ष जियालाई छाड्न आदेश दिएका हुन्।

‘बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)की अध्यक्ष बेगम खालिदा जियालाई तत्काल रिहा गर्न सर्वसम्मतिले निर्णय भयो,’ राष्ट्रपतिको प्रेस टिमले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।

सेनाका प्रमुख वाकेर-उज-जमन, नेभी र एयरफोर्स प्रमुख, बिएनपी सहितका शीर्ष नेताहरू राष्ट्रपतिले बोलाएको बैठकमा सहभागी थिए।

७८ वर्षीया जिया दुई पटक प्रधानमन्त्री भइसकेकी छन्। उनको स्वास्थ्य अवस्था बिग्रिँदा अस्पतालमा उपचाररत छन्।

सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा उनलाई १७ वर्ष जेल सजाय सुनाएको थियो। बिएनपीले जियाविरूद्ध गलत मुद्दा लगाएको र राजनीतिबाट टाढा राख्नलाई हसिनाको सरकारले फसाएको आरोप लगाउँदै आएको छ।

‘बैठकले विद्यार्थी आन्दोलनमा पक्राउ परेका सबैलाई छाड्ने पनि निर्णय गरेको छ,’ राष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ।

बंगलादेशमा आरक्षण विरूद्धको विद्यार्थी आन्दोलन सुरू भएयता २ हजारभन्दा बढी मानिस पक्राउ परेका छन् भने ३०० जनाभन्दा बढी मारिएको आकलन छ।

२२ श्रावण २०८१, मंगलवार १३:५८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading