वि.सं.२०८३ वैशाख १९ शनिवार

सिमलताल दुर्घटना : त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्किए भारतीय टोली

khanepani

काठमाडौं । सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय टोली आइतबार फर्किएको छ । असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुबाहक बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो ।

लगातार ८ दिनसम्म अत्याधुनिक प्रविधिसहित त्रिशूलीका विभिन्न ठाउँमा हराएका खोज्दा पनि नभेटिएपछि भारतबाट आएको टोली फर्किएको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले जानकारी दिए । शुक्रबार बस खोज्न भारतीय टोलीले ल्याएको चुम्बक नै हराएको थियो ।

अत्याधुनिक सोनार क्यामेरा लगायतका उपकरणसहित १२ सदस्यीय टोलीले खोजी कार्य सुरु गरेको थियो । भारतीय टोली फर्किए पनि नेपाली उद्धार टोलीले भने खोजी कार्य जारी राख्ने डा. उप्रेतीले जानकारी दिए । ‘भारतीय टोली फर्किए पनि हाम्रो टोलीले खोजी जारी नै राख्ने छ । खोजी कार्य टुंगिएको छैन’ उनले भने, ‘अतिरिक्त प्रयास भइरहेको छ ।’

असार २८ गते चितवन महानगरपालिका–२९, सिमलतालमा गएको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर २ वटा यात्रुबाहक बस बेपत्ता छन् । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदो सहितको पहिरोले बगाएर त्रिशूली नदीमा हुलेको थियो ।

हराएका बस खोज्न भारतबाट आएको भारतीय नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को टोलीसँगै नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौली, सशस्त्र प्रहरीलगायत उद्धार तथा खोजीमा संलग्न थिए ।

तर, १७ दिनसम्म विभिन्न उपकरणसहित खोजी कार्य जारी राख्दासमेत हराएका २ वटै बस भेटिएका छैनन् । दुबै बसमा रहेका कुल ६५ यात्रुमध्ये ३ जना हामफालेर बाँचेका थिए भने अहिलेसम्म २० जनाकोमात्रै शव भेटिएको छ । त्यसमध्ये ४ जनाको शव अझै सनाखत हुनसकेको छैन । २ जनाको शव भारतीय भूमिमा फेला परेको थियो । बसमा सवार बाँकी यात्रुको अवस्था अझै अज्ञात छ ।

दुर्घटनामा परेका कतिपय यात्रुका परिवारले कुशको शव बनाएर अन्तिम दाहसंस्कार प्रक्रिया पनि पूरा गरिसकेका छन् । पछिल्लो समय बसमा यात्रारत यात्रुका शवसमेत फेला पर्न छाडेकाले बस फेला पर्ने सम्भावना न्यून रहेको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका एक कर्मचारीले बताए । ‘अबचाहिं सम्भावना छैन । त्यही पनि हाम्रोतर्फबाट खोजी प्रयत्न जारी राखौं भन्ने मात्रै हो’, ती कर्मचारीले भने ।

ranechhap