काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष अन्जना शाह रावलले राजीनामा फिर्ता लिएकी छन् ।
उनले फेसबुकमार्फत राजीनामा फिर्ता लिने निर्णय लिएको जानकारी दिएकी छन् । रावलले महामन्त्री राजेन्द्र गुरुङलाई आफनो राजीनामा फिर्ता गरिदिन पत्र पठाएकी छन् ।
संगठनभित्र चरम असहयोग र काम गर्ने अवस्था नभएको भन्दै गत असार ५ गते अन्जनाले महिला संगठनको अध्यक्षसहित राप्रपाको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी थिइन् । साथै आफू र आफ्नो परिवार राप्रपाको मतदाता समेत नरहने घोषणा गरेकी थिइन् ।
उनले पार्टीकाे शीर्ष नेताहरुकाे निर्देशनकाे कारण राजीनामा फिर्ता लिएकाे बताएकी छन् । आफूले दिएकाे राजीनामा विधान अनुसार नभएकाे र फेसबुकबाट दिएकाे राजीनामा फेसबुकबाटै नै फिर्ता लिनुपर्ने भएकाले फेसबुकमार्फत फिर्ता लिएकाे प्रष्ट पारेकी छन् ।
रावलले आफ्नाे राजीनापत्रले पार्टीलाई पुग्न गएकाे क्षति प्रति पनि माफी मागेकी छन् ।
उनले लेखेकी छन्,’मेराे उदेश्य मेरो पार्टीलाई हानी पुर्याउने कदापि थिएन । शीर्ष नेताज्युहरुको निर्देशन , मेरा साथीहरूको आग्रह , सङ्गठनका मेरो प्यारा दिदिबहिनीहरुको माया , स्नेह, अपनत्व अनि सद्भावका कारण म जिम्मेवारीबाट पन्छिन नसक्ने भएकीछु । मैले दिएको राजीनामा बिधान अनुसार नभएको र जहाँ दिएको त्यहाबाट स्वीकृत गर्न नमिल्ने भन्ने कुराको जानकारी प्राप्त भएको साथै जसरी फेसबुकबाट राजीनामा सार्वजनिक भएको थियो त्यसरी नै फिर्ता लिनुपर्ने भन्नेकुरा आएकोले मैले मेरो राजीनामा फिर्ता लिएको जानकारी गराउन चाहन्छु । आगामी दिनमा मेरो पार्टी प्रतिको निष्ठामा कुनै पनि सम्झौता नगरी पार्टी लाई थप उचाइ दिन म अहम भुमिका निर्वाह गर्ने प्रतिवद्दता ब्यक्त गर्दछु । मेरो राजीनामा पत्रले पार्टी लाई पुग्न गएको क्षति प्रती म क्षमा चाहन्छु ।’











































