काठमाडौं । सहकारी छानबिन संसदीय विशेष समितिले बैंकिङ क्षेत्रका विज्ञहरूसँग छलफल गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको बैठकले गभर्नर महाप्रसाद अधिकारी, बैंकर्स संघका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्ट लगायतसँग छलफल गरेको थियो ।
बैठकमा सहभागी बैंकिङ विज्ञहरूले नियमनलाई महत्त्व नदिंदा सहकारीमा समस्या देखिएको धारणा राखे । सहकारीका समस्या समाधानका लागि नियामकीय निकाय बनाउनु पर्ने र एउटै कर्जा सूचना केन्द्र आवश्यक भएको सुझाव दिएका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत संकलन गर्न दिंदा सहकारी क्षेत्रमा समस्या आएको बताए । अधिकारीले भूगोलको सीमा नराखिएको, नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको, सुपरीवेक्षण हुन नसकेको जस्ता कारणले गर्दा सहकारीमा आजको अवस्था देखापरेको बताए ।
गभर्नर अधिकारीले सहकारीका समस्या समाधानका लागि ‘सेकेन्ड टायर इन्स्टिट्युसन’ बलियो नियामकीय निकाय बनाइनुपर्ने उल्लेख गरे ।