रूपन्देही । शुक्रबारदेखि परेको वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा बाढी र पहिरोले क्षति पुर्याउनुका साथै सडक सञ्जाल तथा हवाई सेवालाई समेत प्रभावित पारेको छ ।
प्रदेशका करिब १ दर्जन मुख्य सडक तथा दर्जनौं सहायक सडक अवरुद्ध भएका छन् । आइतबार विहान साढे ९ बजेसम्मको तथ्याङ्क अनुसार लुम्बिनीमा विभिन्न ९ वटा ग्रामीण तथा मुख्य सडकहरु अवरुद्ध भएका छन् ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले दिएको जानकारी अनुसार पाल्पा सडक खण्ड अन्तरगत सिद्धबाबा क्षेत्रमा सडकमाथिबाट बाढीसहित झरेका गेग्र्यान र ढुङ्गामाटो तथा लेदोले सडक अवरुद्ध भएको छ । उक्त सडकलाई खुलाउने प्रयास भइरहेको छ ।
यसैगरी गुल्मी पाल्पा जोड्ने सडक पनि पहिरोले अवरुद्ध भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका-२ मालमूल भन्ने स्थानमा सडकमाथिबाट आएको पहिरोले नम्बर नखुलेको एक मोटरसाइकललाई पुरेको छ । मोटरसाइकल कुनै मानवीय क्षति नभएपनि पहिरो हटाएर मोटरसाइकल निकाल्ने काम भैरहेको प्रहरीले जनाएको छ ।
गुल्मीमा रिडी-तम्घास जोड्ने सडक पनि पहिरोले अवरुद्ध भएको छ । रिडीदेखि सत्यवती गाउँपालिका जोड्ने सडक पनि अवरुद्ध छ । यसैगरी तम्घासदेखि सिमलटारी जोड्ने सडक पनि पहिरोले अवरुद्ध बनेको छ । रिडीदेखि पूर्तिघाट जोड्ने सडक पनि अवरुद्ध रहेको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सकड पहिरोले अवरुद्ध छ भने प्युठानको भालुवाङ–चकचके सडक खण्ड अन्तरगत माण्डवी गाउँपालिका १ र ३ मा पहिरोका कारण अवरुद्ध छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवल–नारायणगढ सडकको दाउन्नेमा भने अहिले यातायात एकतर्फी सुचारु भएका छन् ।
दाङको घोराही-तुलसीपुर सडक पनि सुचारु गरिएको छ । निरन्तरको वर्षाले विभिन्न ठाउँका सडकहरु अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेकाले सचेत भएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
बाढीले बगाएर दाङमा दुई जनाको मृत्यु भएको छ भने नवलपरासीमा एक जना वेपत्ता भएका छन् ।