वि.सं.२०८३ वैशाख १८ शुक्रवार

मेलम्ची आयोजना, पानी आयो, तर काम अझै बाँकी छन् सहज रुपमा सबै काठमाडौंबासीले मेलम्चीको पानी उपभोग गर्न भने अझै केही समय लाग्ने

khanepani

काठमाडौं । दुई दशकको प्रयासपछि मेलम्चीको पानी काठमाडौंमा ल्याइएको छ । तर, सहज रुपमा सबै काठमाडौंबासीले मेलम्चीको पानी उपभोग गर्न भने अझै केही समय लाग्छ ।

काठमाडौंमा बढ्दो खानेपानीको अभाव तत्काल कम गर्न हतारहतार मेलम्चीको पानी खसाए पनि सुरुङ परीक्षण, प्रशोधन केन्द्र सञ्चालन र मुहानको हेडबक्सका केही काम अझै बाँकी भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिका अनुसार सुरुङ परीक्षण अवधि दुई महिनाको हुन्छ । त्यस सँगसँगै प्रशोधन केन्द्र सञ्चालनका लागि तीन महिना लाग्ने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

नयाँ पाइपलाइन विस्तार गरेर मेलम्चीको पानी वितरण गर्ने जिम्मा पाएको आयोजना कार्यान्वयन निर्देशालयले अझै पनि नयाँ पाइपलाइनको काम सकेको छैन । आयोजनाको तर्फबाट धाराको मिटर जडान, क्रसिङ, डिसइन्फेक्सनलगायत काम हुनै बाँकी छ । कामको मात्रा धेरै नभए पनि प्राविधिक हिसाबले सबै काम सक्न समय लाग्ने आयोजनाको भनाइ छ ।

नयाँ जडान गरिएको पाइपलाइनमा लिकेजको समस्या आइरहने भएकाले मर्मत गरेर फेरि पानी पठाउन समय लाग्ने आयोजनाको बुझाइ छ ।अहिलेसम्म काठमाडौंका ११ सय ५० मध्ये साढे २ सय किलोमिटर पाइपलाइन परीक्षण गरिसकिएको छ । बाँकी पाइपलाइन परीक्षण गर्दै पानी छाड्ने आयोजनाको तयारी छ ।

अहिले आयोजनाले काठमाडौं खानेपानी लिमिटेड केयुकेएलको पुरानो प्रणालीबाट पानी वितरण थालेको भइरहेको छ । नयाँ वितरण लाइन सम्पन्न नहुदाँसम्म अन्तरिम व्यवस्थापन केयुकेएलकै सिस्टमबाट हुने बताउँछन्, केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्य ।

पहिलो चरणमा एक लाख १० हजार घरमा पाइपलाइन विछ्याउने जिम्मा आयोजनाले पाएको थियो । त्यसमध्ये अहिलेसम्म १५ हजार घरमा मात्रै धारा तयार छ । नयाँ निर्माण गरिएको धारामा नयाँ प्रणालीबाटै पानी वितरण थालिएको छ ।

उपत्यकाको एकतिहाई जनसंख्याले भने तत्काल मेलम्चीको पानी उपभोग गर्न पाउने छैनन् । आयोजनाका प्रमुख कमलराज श्रेष्ठले भने, ‘चक्रपथ भित्र एकतिहाई ठाउँमा अझै पाइपलाई विस्तार बाँकी छ । सबै परीक्षण सकेर सबैतिर पानी पठाउन अझै आठ महिना जति लाग्न सक्छ ।

आयोजनाले अहिले नयाँ दैनिक २ सय घरको दरले धारामा नयाँ पाइपलाइनबाट पानी पठाइरहेको छ । ती धाराहरुमा २४ सै घण्टा पानी छोडिएको आयोजनाको दाबी छ । श्रेष्ठका अनुसार अब क्रमशः पानी छाड्ने मात्रा बढाउँदै लगिनेछ ।

पाइप त राखिसकेका छौ । अब परीक्षण गर्दै पानी छोड्दै जाने हो, आयोजना प्रमुख श्रेष्ठले बताए ‘परीक्षण गर्दै पाइपलाइन लिकेज भएको ठाउँमा मर्मत गर्दै पानी छोड्दै जानुपर्ने भएकाले सहज हुन केही समय लाग्छ । उनका अनुसार पानीपोखरी, चक्रपथ, बाँसबारीलगायतका क्षेत्रका सर्वसाधरणले मेलम्चीको पानी पिउन पाउने छैनन् ।

वैशाख पहिलो साताबाट मात्रै दैनिक १७ करोड लिटर पानी वितरण गर्ने केयुकेएलको योजना छ । चैत १५ र १६ गते चार करोड लिटर पानी वितरण भएको थियो ।

१७ गते साडे ६ करोड, १८ र १९ गते साडे ८ करोड लिटर पानी धारामा पठाइएको केयुकेएलले जनाएको छ । अबको एक सातासम्म यही दरमा पानी वितरण हुनेछ । केयुकेएलले क्रमशः पानी वितरणको मात्रा बढाउँदै लैजना बताएको छ ।

केयुकेएलले अहिले सकेसम्म दैनिक र नसके दिन बिराएर पानी वितरणको तालिका बनाएको छ ।

केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यका अनुसार गर्मी महिनामा दिन बिराएर दिने र वर्षातमा २४ सै घण्टा पानी वितरण हुनेछ । अहिलेसम्म हालसम्म झण्डै एक लाख धारामा दिन बिराएर पानी वितरण भइरहेको केयुकेएलले जनाएको छ ।

मेलम्चीको पानी पिउने दुई दशक पुरानो सपना सकार भएकामा काठमाडौंबासी खुसी छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा मेलम्चीको पानी वितरण शुभारम्भ गरेसँगै ट्याङ्कर र जारको पानी किन्न नपर्ने भयो भन्दै उनीहरू खुसी भएका हुन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल र आयोजना कार्यन्वयन निर्देशनालयबाट आइतबारदेखि मीनभवन, अनामनगर, महांकालचौर, खुमलटारको ट्याङकीबाट पानी वितरण सुरु गरिएको छ । यस्तै बालाजुको ट्याङकीबाट पनि पानी वितरण सुरु भएको छ ।

हाल अनामनगरमा ८ सय धारामा नयाँ पाइपलाइन विस्तार गरेर पानी पठाएको छ । उक्त क्षेत्रमा २४ सै घण्टा पानी वितरण भए पनि अन्य क्षेत्रमा दिन बिराएर पानी पठाइएको छ ।

काठमाडौंको अनामनगर क्षेत्रमा वितरण भएको मेलम्चीको पानी खान योग्य भएको पाइएको छ । अनामनगरको ट्याङकीबाट नयाँ पाइपलाइनबाट ५ सय वटा धारामा पानी वितरण गरिएको छ । आयोजना प्रमुख कमलराज श्रेष्ठले भने, ‘ब्याक्टेरियल परीक्षण गर्दा पानी पिउन योग्य पाइएको छ । अब नयाँ प्रणालीबाट वितरण गरिएको पानी निर्धक्क पिउन सकिन्छ ।

मेलम्ची खानेपानी विकास समितिले चैत १३ गते सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणका लागि पानी पठाएको थियो । समितिले गत फागुन १० गते सुरुङ परीक्षणका लागि पानी पठाएको थियो । त्यसको दुई सातापछि शनिबार पानी सुन्दरीजलसम्म आइपुगेको हो ।

ranechhap