वि.सं.२०८३ असार १४ आइतवार

स्मार्ट लाइसेन्सको साटो पहिलो वर्षका लागि क्यूआर कोडसहित कार्ड दिने तयारी

khanepani

काठमाडौं । सरकारले ट्रायल पास गरेको एक वर्षसम्मको अवधिका लागि छुट्टै सवारी चालक अनुमतिपत्र लाइसेन्स जारी गर्ने भएको छ । चालकले एक वर्षसम्म परीक्षण कालको रुपमा बिताउनुपर्ने भन्दै सो अवधिका लागि छुट्टै कागजी लाइसेन्स जारी गर्ने तयारी भएको हो ।

विभागका महानिर्देशक नमराज घिमिरे एक वर्षका लागि क्विक रेस्पोन्स क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स जारी गरिने बताउँछन् । ‘अब आगामी जेठदेखि ट्रायल पास भएको एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स दिन्छौं, उनले भने,’त्यसको चार वर्षपछि चालकले फेरि लाइसेन्स नवीकरण गराउनुपर्छ ।

क्यूआर कोडबाट ट्राफिक प्रहरीले सडकमा लाइसेन्स सक्कली हो वा नक्कली हो भनेर पुष्टि गर्न सक्ने घिमिरेले बताए ।

विभागका अनुसार परीक्षणकालीन लाइसेन्समा ट्राफिकले ५ वटाभन्दा बढी प्वाल पारेमा चालकले फेरि लाइसेन्सको परीक्षा दिनुपर्नेछ । गम्भिर प्रकृतिका ट्राफिक नियम उल्लंघन भएमा लाइसेन्समा प्वाल पर्ने व्यवस्था भएपनि स्मार्ट लाइसेन्समा त्यस्तो कारवाही सम्भव भएको छैन ।

एक वर्षभित्र परीक्षणकालीन लाइसेन्स ५ भन्दा बढी प्वाल परेमा स्मार्ट लाइसेन्स दिँदौनौं, महानिर्देशक घिमिरेले भने ।

लाइसेन्सको मागअनुसार यातायात विभागले छपाइको व्यवस्था पनि गर्न सकेको छैन । लाइसेन्स छपाइ ढिलो हुँदा अहिले धेरै चालकहरु कर तिरेको रसिद बोकेर हिँड्न बाध्य छन् ।

क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स जारी गरेपछि आफू लाइसेन्सविहीन भएर सवारी चलाउनुपरेको भन्दै हुने गुनासो पनि घट्ने महानिर्देशक घिमिरे बताउँछन्।

ranechhap